काठमाडौं, २० साउन । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सरकारले राहत प्याकेजबिना नै मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा असन्तुष्टि पोखेका छन् । उनले भने,‘सरकारले बिना राहत प्याकेज नै मधेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ, न योजना छ, न बजेट छ । सरकारले यो विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेर के सन्देश दिन खोजेको हो भनेर प्रश्न गर्न चाहन्छु ।’
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले सरकारको एकतर्फी घोषणाबाट मधेशका पीडित जनता झनै पीडाको मारमा परेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशमा ५ सय वटा डिप–बोरिङ गाड्छु भनेको विषयमा सरकारी निकायलाई नै थाहा नभएको भन्दै कस्तो उदासिनता हो भनेर प्रश्न गरे ।
उनले भने,‘प्रधानमन्त्रीले डिप बोरिङ गाड्छु भनेको विषय सरकारी निकायलाई नै थाहा छैन। न सिचाईं विभागलाई थाहा छ, न खानेपानी विभागलाई नै थाहा छ । यसरी हावादारी आश्वासनले पीडितलाई राहत दिन्छ कि पीडितलाई झनै दुःखी बनाउँछ भनेर म सोध्न चाहन्छु ।’ सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर सार्वजनिक खरिद ऐन प्रभावित भएको पनि साहले उठाए ।
उनले थपे,‘संकटग्रस्त क्षेत्र घोषणा गरेर सार्वजनिक खरिद ऐन प्रभावित भएको छ । आकस्मिक दफामा गएको छ । सरकारको नियत राहत दिने हो कि त्यहाँ भ्रष्टाचार गर्ने हो भन्ने प्रश्न उठ्छ । आज कांग्रेस, एमालेका कार्यकर्ताहरु दौडिरहेका छन्, मिलेमतोमा मनोमानी गरिरहेको हामी हेरिरहेका छौं । विनियोजित रकम दुरुपयोग भएको संकेत हामी पाईरहेका छौं । पारदर्शीता र सुशासन चाहिएको बेलामा आज मनोमानी चलिरहेको छ ।’
संकटग्रस्त क्षेत्र घोषणापछिको सरकारको कदम बदनियतपूर्ण देखिएको साहको गम्भीर आरोप छ । उनले भने,‘यो सरकारको कदम राहत दिने उद्देश्यबाट प्रेरित छैन, भ्रष्टाचार गर्ने उद्देश्यबाट प्रेरित छ ।’ प्रधानमन्त्री ओलीले डिप बोरिङ गाड्छु भनेर घोषणा गरेको दुई साता बितिसक्दापनि अहिलेसम्म त्यसको कुनै चाँजोपाँजो नदेखिएको भन्दै सरकारको कामको साहले आलोचना गरे ।




प्रतिक्रिया