काठमाडौं, २० साउन । सुधार आन्दोल नेपालले राजनीतिक दललाई सरकारी अनुदान दिने र निर्वाचन सीमा नीतिको विरोध गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा साक्षत्कार कार्यक्रम आयोजना गर्दै सुधार आन्दोलन नेपाले राज्य कोषको पैसाबाट दल चल्न नहुने बताएको हो ।
सुधारवादी अभियन्ता बोधराज न्यौपानेले सरकारले राज्य कोषबाट राजनीतिक दललाई पैसा दिनेगरी कानून बनाउन लागेको बताए । उनले अहिले त्यस प्रकारको होमवर्क भइरहेको र त्यो नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।
‘सरकारी अनुदानले चल्नेगरी सरकारले दलहरुलाई राज्य कोषबाट पैसा हाल्ने कानून बनाउँदैछ । यसका होमवर्क हुँदैछ, हुँदैगर्दा हामीलाई विरोध गर्न परेको छ,’– उनले भने ।
नेपाली जनताले तिरेको करको पैसा राज्यले राजनीतिक दल सञ्चालनका लागि दिन नहुने उनको भनाइ छ ।
अर्का वक्ता डा.सुशिल पौडेलले राज्यले पार्टी सञ्चालन र निर्वाचनका लागि खर्च दिन नहुने बताए । ‘अहिले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न खोजिएको छ । यसको सबैले विरोध गर्नुपर्ने आवश्यकता देखिएको छ । पहिलो पार्टी खोल्न नसक्नेगरी व्यवस्था गरिएको छ । दोस्रो राष्ट्रिय पार्टी हुन पनि निकै कडा प्रावधान राखिएको छ,’– उनले भने ।
सुधार आन्दोलन नेपालका संयोजक डा.गोपीलाल न्यौपानेले व्यवस्थामा सुधार हुनुपर्छ, सामाजिक, आर्थिक सुधार हुनुपर्छ भन्ने मान्यता आफूहरुको रहेको बताए । उनले निर्वाचन आयोगले राजनीतिक दलका लागि बनाएको स्वमूल्याङ्कन कार्यविधि गलत रहेको उनले बताए ।
‘जबसम्म हामी माथिबाट नीति नियममा कडाइ गर्दैनौं, जनताको विषयमा, जनताको पक्षमा हामी जबसम्म नीति बनाउन सक्दैनौं, तबसम्म नेपाली समाज रुपान्तरण हुँदैन । नेपाली समाज रुपान्तरणको लागि टपबाट डाउनमा आउनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया