काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेतृ एवं सांसद रोशन कार्कीले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीको अनुसन्धानमा ठूला दल र सत्ताको अगाडि आफूहरुको केही नलागेको बताएकी छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नैतिकता भन्ने शब्द प्रतिवेदनमा समावेश गराउनै आफूहरुका लागि दुई दिन लागेको बताईन्् ।
‘हामीहरुले सकेनौं । ठूला दल र सत्ताको दम्भको अगाडि हाम्रो केही लागेन । तैपनि हामीहरुले रातदिन उहाँहरुसँग लड्यौं । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा हामीहरुले अन्तिमसम्म लड्यौं,’– उनले भनिन् ।
उनले अहिले सत्तासिन ठूला दलहरु नैतिकताविहीन देखिएको बताईन् । एउटा नैतिकता शब्द राख्नका लागि आफूहरुले रातभर संघर्ष गर्नुपरेको र नोट अफ डिसेन्ट नै देखाउन परेको उनले बताईन् ।
नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र एमालेले मुख्यसचिव एकनारायण अर्याललाई जोगाउने प्रयत्न गरेको उनको आरोप छ । ‘शेरबहादुर देउवाको इन्ट्रेस्ट थियो रामहरि खतिवडालाई बचाउनु । उहाँहरु (सरकार) को इन्ट्रेस्ट थियो– मुख्यसचिवलाई बचाउनु । उहाँहरु दुईवटाको बीचमा बार्गेनिङ भयो,’– उनले भनिन् ।
अब मुख्यसचिव अर्याललाई नेपाल सरकारले सजाय गर्नुपर्ने र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई कांग्रेसले नैतिकता सिकाउन पर्ने उनको भनाइ छ ।




प्रतिक्रिया