काठमाडौं, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू एकथान फोटो झुण्ड्याउनको लागि मुख्यमन्त्री बनेको स्पष्ट पारेका छन् । संघीयता कार्यान्वयनको मुख्य शान भनेको प्रदेश भएकोले आफू मुख्यमन्त्री बनेको उनको दाबी छ । उनले प्रदेशको विकासको लागि नै आफू प्रदेशमा चुनाव लडेको जिकर गरे ।
मुख्यमन्त्री नियुक्ती भएकै दिन आज (मंगलबार) राति प्राइम टिभीको लागि पत्रकार ऋषि धमलाले लिएको विशेष अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्रको सहमति कार्यान्वयनको लागि आफू दलको नेता बनेको स्पष्ट पारे ।
दलको नेतामा निर्वाचन भएर आफू निर्वाचित भएको र अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा आएको विषयलाई उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास भएको जिकिर गरे । मुख्यमन्त्री बानियाँले आफू र बहादुर सिंह लामाबीच यसअघि नै आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा सहमति भएको सुनाए । उनले आफूले पदभन्दा पनि पद्धतीलाई विश्वास गर्ने मान्छे भएको सुनाए । उनले बहादुर सिंह लामाको निर्णय, काम र नीति राम्रो कुरालाई ग्रहण गर्ने बताए ।
मुख्यमन्त्री बानियाँले राजनीति मानवताको लागि गर्ने भन्दै धर्म र जातको नाममा गर्ने कुरा नभएको टिप्पणी गरे । हिजो धर्मको नाममा राजनीति गरेका कमल थापा र जातको राजनीति गरेको माओवादीको ग्राफ कहाँ छ ? भन्दै उनले प्रश्न गरे । उनले आफूहरुको मूल धर्म भनेको मानवताको सेवा नै भएको जिकिर गरे ।




प्रतिक्रिया