बागमतीका मुख्यमन्त्री बानियाँले आफूले पाउने तलबभत्ताबाट गरिबको घर बनाइदिने


काठमाडौं, २१ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफूले पाउने तलबभत्ताबाट घरबारविहीनको घर बनाइदिने बताएका छन् । प्राइम टाइम्स टेभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले आफू निर्वाचित भएको क्षेत्रको ३० वटा वडामध्येमा सबैभन्दा गरिबलाई आफूले पाउने मासिक तलबभत्ताबाट घर बनाइदिने बताएका हुन् ।

‘मैले पाउने सेवा सुविधाबाट मलाई निर्वाचित गर्ने क्षेत्रको विपन्न, गरिब, सीमान्तकृत, जो छ सबैभन्दा गरिब, जसको घर छैन । मैले पाउने मासिक तलबभत्ताबाट नलिने । म निर्वाचित भएको क्षेत्रमा ३० वटा वडा छ । घरबारबिहीनको एउटा घर मैले तलबबाट बनाउने गर्छु,’– उनले भने ।

साथै, घर नभएका गरिब, विपन्न, सीमान्तकृतहरु लागि नीति बनाएर प्रदेश सरकारले काम गर्ने पनि उनले बताए । उनले बागमती प्रदेश सरकारले नीतिगत निर्णय गरेर गरिबमुखी, सेवामुखी, न्यायमुखी काम गर्ने बताए । मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार भनेको गरिबहरुको पनि सरकार हो भन्ने आभास हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।