राप्रपा र रास्वपाद्वारा आज पनि संसद् बहिस्कार


काठमाडौं, २१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बाहिस्कार गरेका छन् । आजको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वपाबाट मनिष झा र राप्रपाबाट रोशन कार्कीले दलको कुरा राखेर बाहिरिएका हुन् ।

भिजिट भिसा प्रकरणमा मानव तस्करी भइरहेको भन्दै राप्रपा र रास्वपाले लामो समयदेखि लगातार विरोध गर्दै आइरहेका छन् । रास्वपाका प्रवक्ता समेत रहेका झाले भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन–२०७८ मा ‘वैदेशिक रोजगारीको खोजीमा विचौलियाको प्रलोभनमा परी अवैधानिक तरिकाबाट बाहिर जाने वा पठाउने कार्य एक प्रकारले मानव बेचविखन नै हो’ भनी परिभाषित गरिएको बताए ।

त्यस्तै, राप्रपाकी कार्कीले आफूहरु भिजिट भिसाको विरोधी नभएर भिजिट भिसाको नाममा भइरहेको गलत कामको विरोध गरेको बताईन् । उनले भनिन्, ‘भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर, भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने, हत्या गर्ने काम भएको छ, त्यसको विरोधी हौं हामीहरु । हामीहरुले भिजिट भिसा हुन हुँदैन भनेर विरोध गरेका छैनौं । भिजिट भिसाको नाममा आज हजारौं दिदी बहिनीहरु घरेलु रोजगारमा विदेशमा जान बाध्य छन् । तिनीहरु बलात्कृत भएका छन्, शोषित भएका छन् । हाम्रा दाजुभाइहरु बाकसमा फर्किएर आएका छन् । भिजिट भिसाको नाममा ५० हजारदेखि १ लाख बुझ्ने सरकार र गृहमन्त्रीको मुटु काम्दैन ? कस्तो अच्चम हो ।’