रास्वपालाई विश्वप्रकाशको प्रश्नः रविजी गृहमन्त्री भएको बेलामा सबैभन्दा बढी मानव तस्करी भएको निष्कर्ष हो ?


काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पछिल्लो ५ वर्षमा रवि लामिछाने गृहमन्त्री भएको बेलामा भिजिट भिसामा सबैभन्दा बढी मानिस विदेशिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई पटक गरेर लामिछाने गृहमन्त्री बनेको १५० दिनको अवधिमा १ लाख १६ हजार दुई सय ५ जनाले भिजिट भिसाको नाममा देश छाडेको बताएका हुन् । संसद् बहिस्कार गरेर बाहिरिएका रास्वपाका सांसदहरुलाई उनले ‘रवि लामिछाने गृहमन्त्री भएको बेलामा सबैभन्दा बढी मानव तस्करी भयो भन्न खोज्नुभएको हो ?’ भन्दै प्रश्न गरे ।

‘रास्वपाका सभापति पछिल्लो ५ वर्षमा सबैभन्दा कम समय गृहमन्त्री बन्नुभएको रहेछ । उहाँ गृहमन्त्री बन्नुभएको दुई पटकको सुरुवाती १५० दिन जोड्दैगर्दा १ लाख १६ हजार दुई सय ५ जना यो अवधिमा भिजिट भिसामा बाहिर गएका रहेछन् । भर्खरै संसद् बहिस्कार गरेर जानुभएका साथीहरु सरकारी रेकर्ड पल्टाएर हेर्नुहोला भिजिट भिसामा सबैभन्दा धेरै मानिस त तपाईँकै सभापति गृहमन्त्री भएको बेलामा गएका रहेछन् । रविजीकै पालामा सबैभन्दा धेरै मानिस भिजिट भिसामा गए भन्दै गर्दा तपाईँहरुको यो निष्कर्ष हो– रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भएको छ भन्ने निष्कर्ष हो ?’ प्रश्न गर्दै उनले भने ।

उनले आवेगमा आएर विषयवस्तुलाई नहेर्न आग्रह गरे । उनले रास्वपाका नेताहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिए । भिजिट भिसाको नाममा भइरहेको ठगी निन्दनीय रहेको र यसमा सामेल भएका सबैलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ ।

‘भिजिट भिसाको नाममा जे–जस्तो ठगी भएको छ– यो दुःखदमात्रै होइन, निन्दनीय छ । ठगीमा जो–जो सामेल छन् ती सबैलाई एक–एक गरेर कठघरामा उभ्याउन, दण्ड दिन जरुरी छ,’– उनले भने ।