काठमाडौं, २१ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आजकाल संसद् संसद्जस्तो नभएको टिप्पणी गरेका छन् । उनले भने,‘सम्माननीय सभामुख महोदय, आजकाल संसद् संसद्जस्तो छैन । संसदभित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गएको हामी हेरिरहेका छौं । तटस्थको भूमिकामा रहनुभएको सम्मानित सभामुखज्यू पनि हल्का र विवादित भएको हामी हेरिरहेका छौं । संसद्भिको निषेध, विभेद र सिण्डिकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ ।’
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले राज्य र सरकारलाई नै नियमन गर्ने सर्वोच्च निकाय नै संसद् भएकोले यो थलोमा निषेध कत्तिको उचित हो भनेर प्रश्न उठाए । कार्यव्यवस्था समितिमा एक सिट वाला दल वा सांसद भनेर निषेध गरिएकोमा पनि साहले आक्रोश पोखे । संसद्मा भएको सिट प्लानिङमा पनि न्यायोचित मापदण्ड नअपाईएको साहको आरोप छ ।
उनले एक सिट हुनेबित्तिकै पुछारमा राखिएको र सत्ता पक्षकालाई एक जना भएपनि अगाडि राखिएकोमा आपत्ति जनाए । उनले सदनमा ठूलो दलको एक जना उभिँदा पनि सदन अवरोध हुने तर रास्वपा र राप्रपाले आज झण्डै ७० दिनदेखि संसदमा विरोध गर्दा सरकारलाई कुनै मतलव नभएको बताए ।
सदन बहिष्कार गर्ने दलपनि जिम्मेवार नभएको अनि सरकारले पनि ती दलसँग वार्ता नगरेको विषयलाई साहले तमाशाको संज्ञा दिए । उनले भने,‘म २०६३ सालदेखि यो सदनमा छु, संसदीय मामिला मन्त्री पनि भएँ, कार्यव्यवस्था समितिमा बसेको छु, संसदीय समितिको सभापति पनि भएँ, तर मैले यस्तो कहिल्यैपनि हेरेको थिईनँ । हिजो ६०१ जनाको संविधानसभा हुँदापनि र ३० वटा दल हुँदापनि यो सदनमा निषेध भएको थिएन । तर, आज अनैतिक, अप्राकृतिक र अप्रजातान्त्रिक ढंगले जसरी गठबन्धन अगाडि बढाईएको छ, सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँपनि सिण्डिकेट खडा गर्ने काम गरिएको छ, यो धेरै लामो जाँदैन । यसले संसद्को गरिमालाई घटाईरहेको छ । यसले लोकतन्त्रको सम्मान घटाईरहेको छ । यसमा गम्भीर ध्यान जाओस भन्न चाहन्छु ।’




प्रतिक्रिया