नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ : ऋषि धमला (भिडिओ सहित)


काठमाडौं, २१ साउन । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्सको प्राङगणमा शिक्षा सुधारको बहस भएको छ । प्राइम टिभीका अध्यक्षसमेत रहेका पत्रकार ऋषि धमलाले सो कलेजको शैक्षिक प्रगतिको कामना गरे । कलेजले स्थापना कालदेखि आजसम्म खेलेको भूमिका र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको पनि धमलाले प्रशंसा गरे ।

उनले विद्यार्थीहरुलाई अनुशासनमा रहन सकेमात्रै जीवनमा सफलता हात पार्न सकिने सुनाए । धमलाले नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना सुनाए । सिमावर्ती भारतका विद्यार्थीलाई समेत हेटौंडामा आकर्षित गर्नसकिने धमलाको भनाई छ । उनले नेपालको शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकत्तासमेत औंल्याए ।

उनले त्यसको लगि आफूले देशव्यापी रुपमा अभियान नै सुरु गरेको सुनाए । नेपालको शिक्षा देशको भविष्यसँग गाँसिएकाले दक्ष जनशक्ति उत्पादनमा सबैले ध्यान दिनुपर्ने धमलाको भनाई छ । धमलाले सदाझैं आजपनि विद्यार्थीहरुलाई माता–पिता, मातृभूमि र गुरुहरुको सम्मानमा कुनै कमी नगर्न सुझाव दिए ।

धमलाले सो क्रममा कलेजका प्रिन्सिपल पुरन बहादुर जोशीसँग पनि अन्तरक्रिया गरेका छन् । उनले आफूले यो संस्था सुरु गर्दा हेटौंडामा शिक्षाको स्तर खस्किएको थियो भन्ने स्मरण गराए । उनले आफूले शिक्षा भारतबाट हाँसिल गरेको पनि सुनाए । उनले यो संस्थाले हाँसिल गरेको सफलताको लागि चार दशक समय व्यतित भएको पनि स्मरण गराए ।