काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न १२ वटा राजनीतिक दलको संयुक्त बैठक राखेका छन् । सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र आम जनता पार्टीलगायतका नेताहरु सहभागी थिए ।
सत्तारुढ एवं प्रतिपक्षमा रहेका १२ दलको बैठकमा निर्वाचन आयोगले ड्राफ्ट गरेको स्वमूल्याङ्कन सम्बन्धी कार्यविधिको बारेमा छलफल भएको माओवादी उपमहासचिव वर्षमान पुनले बताए ।
‘निर्वाचन आयोगले पछिल्लो समयमा एउटा निर्देशिका तयार गरेको छ र सुझावको लागि सबै दलहरुलाई पठाएको छ । त्यसमा स्वमूल्याङ्कन सम्बन्धी कार्यविधि ड्राफ्ट गरेर सुझावको लागि पठाएको सन्दर्भमा हामी बसेका हौं,’– बैठकबारे जानकारी दिँदै पुनले भने ।
साथै, निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्देशिका तयार गरेको १२ दलको निष्कर्ष रहेको पनि उनले सुनाए । निष्पक्ष हुनुपर्ने संवैधानिक आयोग कतै प्रयोग हुन खोजेको हो कि भन्ने आशंका आफूहरुको रहेको पनि उनले बताए ।
‘हामी सबै दलहरु के कुरामा सहमत भयौं भने एकातिर निर्वाचन आयोगले दलहरुलाई नियन्त्रण, नियमन, निर्देशन गर्ने होइन । यो संविधानविपरीत काम गर्न खोज्यो, कानूनविपरीत काम गर्न खोज्यो । दलहरुका योग्यता, क्षमताको कुरा वा उसले आफ्नो दायित्व पूरा गर्नुपर्ने कुरा त दलसम्बन्धी ऐनमा अलगै व्यवस्था छ, संविधानका विभिन्न धाराहरुमा व्यवस्था छ । त्यसभन्दा अगाडि बढेर निर्वाचन आयोगले कार्यविधि बनाउन लागेको छ, त्यो असल नियतले बनाउन लागेको देखेनौं,’– उनले भने, ‘अर्को कुरा बेला–बेला दुई दल मिलेर दुई पार्टी सिस्टममा लाने कुरा गर्नुहुन्छ । त्यस्तै आशयबाट कतै निर्वाचन आयोग, संवैधानिक आयोग निष्पक्ष, स्वतन्त्र हुनुपर्नेमा प्रयोग हुन खोज्यो कि भन्ने हामीलाई आशंका पनि भयो । यो संविधानविपरीत छ, कानुनविपरीत छ । आयोगको कार्यक्षेत्र विपरीत छ भनेर हामीले साझा धारणा बनाएका छौं ।’




प्रतिक्रिया