हाम्रो हस्ताक्षर तीन करोड नाघ्न सक्छ : पराजुली (भिडिओ सहित)


काठमाडौं, २१ साउन । रास्वपाका सांसद गणेश पराजुलीले सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर सुरु गरिएको हस्ताक्षर तीन करोडभन्दापनि बढि हुनसक्ने दाबी गरेका छन् । अहिले हस्ताक्षर अभियान नेपालभित्रमात्रै नभएर विदेशका सबै देशमा सुरु भएको उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको हस्ताक्षर अभियानलाई लिएर तीन करोडभन्दा पनि बढि हस्ताक्षर हुनसक्छ है भनेर गरेको कटाक्षको जवाफ दिँदै सांसद परजुलीले यस्तो दाबी गरेका हुन् । आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,”केही दिनअघि सम्माननीय प्रधानमन्त्रीज्यूले तीन करोडभन्दा बढि हस्ताक्षर गर्छन् कि भन्ने डरल लागेको छ भनेर कटाक्ष गर्नुभयो, म खबरदारी गर्न चाहन्छु यो हस्ताक्षर तीन करोडभन्दा बढि हुनपनि सक्छ है । किनकी यो हस्ताक्षर हो, मतदान होईन । यो हस्ताक्षर सिर्फ नेपालमा मात्रै होईन, नेपालबाट श्रमको लागि खाडी मुलुक गएकाहरु साउदी अरब, कतार, युएई, ओमान, बहराईन, मलेसियामात्रै होईन, युरोपका देशहरुमा, अमेरिका, अष्टेलिया, न्यूजिल्याण्ड, जापान र भारतमा यो हस्ताक्षर अभियान चलिराखेको छ । यो त नेपालीहरुले मात्रै हस्ताक्षर गर्ने होईन, अरु विदेशीहरुले पनि यो पुस्ताको राजनीतिक उपस्थितिमाथि राजनीतिक प्रतिशोध साँधेर अरु दलहरुले गरेको यो दमनविरुद्ध सबैले एक्येबद्धता जनाउँदा यो तीन करोडभन्दा नाघ्न पनि सक्छ ।”

कति रकम उठ्छ भन्ने कुरा पनि रास्वपाले पारदर्शी गर्ने उनको भनाई छ । रास्वपाभित्र कुनै गुट नभएको उनको दाबी छ । उनले रास्वपा एकढिक्का रहेको बताए । उनले आफूहरुले हालै भैरहवामा सभापति लामिछानेलाई राखिएको कारागारमा पुगेर भेट गरेको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

पार्टीभित्र अब खेल्नुपर्ने भूमिका र आगामी रणनीतिबारे सभापति लामिछानेसँग कुराकानी भएको उनको भनाई छ । अहिले जेलभित्र लामिछाने अध्ययनमा बढि केन्द्रित भएको पनि उनले जनाए । उनले आफूले सभापति लामिछानेमा उच्च मनोवलमा देखेको सुनाए । पार्टीको संगठनलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि पनि सभापति लामिछानेसँग थुप्रैपटक कुराकानी भएको पराजुलीको भनाई छ ।