आन्दोलन गर्ने तयारीमा जुट्याे शिक्षक महासंघ


काठमाडौं, २२ साउन । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको तयारी थालेको छ । आफूहरुसँग विगतमा भएका सहमतिहरुको कार्यान्वयन गरी तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित महासंघले गत चैत र वैशाखमा २९ दिन काठमाडौं केन्द्रीत आन्दोलन गरेको थियो । असार १५ सम्ममा प्रतिनिधिसभाबाट शिक्षा विधेयक पारित गर्ने सहमतिमा शिक्षकहरुको आन्दोलन टुङ्गिएको थियो । तर, अहिलेसम्म शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा नै रहेको छ ।

शिक्षक महासंघले पुनः आन्दोलनको तयारीका लागि छलफल गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले रणनीति तयार गर्नका लागि बैठक बसेको बताए । अबको आन्दोलन गत चैत–वैशाखको २९ दिनेभन्दा पनि सशक्त हुने उनको भनाइ छ । शिक्षक महासंघले सरकारलाई दिएको अल्टिमेटम हिजो (साउन २१ गते) सकिएको छ ।