काठमाडौं, २२ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुराले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । रिपोर्टर्स नेपालको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले सभापति खतिवडा र सचिव दुरालाई जिम्मेवार बनाउनेगरी प्रतिवेदन तयार पारेर संसद्लाई बुझाएको बताएका हुन् । उनले अब उक्त प्रतिवेदन संसद्ले हस्तान्तरण गर्दै दोषीलाई कारबाहीको लागि निर्देशन दिने बताए । दोषीमाथि कस्तो प्रकारको कारबाही गर्ने भन्ने कुरा आफूहरुले भन्न नमिल्ने उनले बताए । उनले प्रतिवेदनमा बुँदागतरुपमा घटनाक्रमलाई सुक्ष्म ढंगले विश्लेषण गरेको दाबी गरे ।
‘त्रुटी भएको छ भनेर नै यो समिति बनेको हो । त्रुटी भएको छैन भनेर समितिले निष्कर्ष निकालेकै छैन । पहिलो नम्बरमै हामीले त्रुटी भएको छ भन्ने निष्कर्ष निकालेका छौं । जसको जिम्मेवारी समितिको सभापतिले र सचिवले नैतिक जिम्मेवारी लिनुपर्छ भनेर हामीले यसको निष्कर्ष निकालेका छौं । नैतिकताको प्रश्न स्वयं उहाँहरुले पालना गर्ने कुरा हो । हामी कुनै न्यायलयले जस्तो यो गर भन्नेखालको समिति होइन । सत्यतथ्य र वस्तुनिष्ठ भएर समितिले औंल्याएका कुराहरुलाई हामीले संसद्मा पठाउने, संसद्ले सरकारलाई हस्तान्तरण गर्ने र निर्देशन दिने, त्यसपछि सरकारले अध्ययन गरेर के गर्छ भन्ने कुरा स्वयं सरकारले गर्ने कुरा हो,’– उनले भने ।
परिभाषित जिम्मेवारीअन्तर्गत दायित्व बहन गर्न नसक्नेलाई सचिवलाई संसद् सचिवालले के गर्छ भन्ने कुरा त स्वयं उनीहरुको विषय रहेको नेता आचार्यले बताए । नेता आचार्यले आफू र आफ्नो पार्टी एमाले कुलिङ अफ पिरियडको पक्षमै रहेको बताए । उनले एउटै व्यक्तिले पटक–पटक अवसर पाउने कुराको अन्त्य हुनुपर्ने बताए ।
‘कुलिङ अफ पिरियड लागू हुनुपर्छ । संवैधानिक निकायहरुमा निश्चित मान्छेहरुमात्रै त्यहाँ नियुक्ति हुने भन्ने कुरा किमार्थ हुन सक्दैन । निश्चित मान्छेले अवसर पाइरहने कुरा स्वीकार्न सकिँदैन,’– उनले भने ।




प्रतिक्रिया