शिक्षकहरुले भदौको दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने


काठमाडौं, २२ साउन । शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघको आज बसेको बैठकले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको बताए ।

महासंघले भदौको ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको पनि उनले बताए । ‘शिक्षा, स्वाथ्य तथा सूचना प्रविधि समितिबाट प्रतिनिधिसभामा प्रतिवेदन गएन भने अथवा प्रतिवेदन गएर पनि हिजोका सहमतिलाई सम्बोधन गरिएन भने भदौको दोस्रो साताको सुरुबाट आन्दोलन गर्ने निर्णय भएको छ,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले भने ।

आन्दोलनको प्रकृति र तालिका राष्ट्रिय समितिको पूर्ण बैठकपछि सार्वजनिक गरिने उनले बताए । आफूहरुसँग विगतमा भएका सहमतिहरुको कार्यान्वयनसहित तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले यसअघि गत चैत–वैशाखमा २९ दिन आन्दोलन गरेको थियो ।