दुई तिहाइको हुङ्कारसहित बाघ बनेर आएको सरकारले मुसाले गर्नुपर्ने काम पनि गरेनः माओवादी नेता बस्नेत


काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दुई तिहाइको हुङ्कारसहित बाघ बनेर आए पनि मुसाले गर्नुपर्ने काम पनि नगरेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले आफ्नो औचित्यता गुमाउँदै गइरहेको बताएका हुन् । उनले वर्तमान सरकार बन्दा उठाइएको संविधान संशोधनको एजेण्डामा छलफल नै हुन नसकेको, सुशासनको हिसाबले सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।

‘सरकारले आफ्नो औचित्यता गुमाउँदै गइराखेको छ । सफलताको त कुरा नै भएन । उहाँहरुले संविधान संशोधनको कुरा गरिराख्नुभएको थियो, त्यो बारेमा छलफल देखिराखेका छैनौं हामीले । सुशासनको विषयमा सरकारले यो गर्यो है भन्न सक्ने ठाउँ छैन । अब आर्थिक विकासको दृष्टिले हेर्दाखेरी विकास निर्माणको हिसाबले, बजेट कार्यक्रममा संसद्को बहस गर्यौं । त्यहाँ प्रतिपक्षले भन्नुपरेन, सत्ता पक्षकै सांसदहरुले नै सरकारको व्यवहार बारेमा, सरकार हिँड्न खोजेको बाटोको बारेमा के–के भन्नुभयो भन्ने कुराले स्पष्ट भइसकेको छ । सरकार दुई तिहाइको हुँकार लिएर आयो, बाघ बनेर आयो तर मुसाले गर्नुपर्ने काम पनि गरेन,’– उनले भने ।