‘प्रधानमन्त्री ओलीको दिल्ली जाउँ, मोदीजीलाई भेट्न पाउँ भन्ने ठूलो इच्छाको सुनिश्चितता हुँदैछ’


काठमाडौं, २३ साउन । जनता समाजवादी पार्टी (नेपाल) का प्रवक्ता मनिष सुमनले मधेशी जनतासँग सरकारले मजाक गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर पनि कुनै प्रकारको राहत र सहयोग नगरेको बताएका हुन् ।

‘सरकारले मजाक गर्यो, जिस्कायो । प्रदेश सरकार होस् या संघीय सरकार होस्– यिनीहरुले जिस्काउने, मजाक गर्ने अधिकार राख्दैनन् । संकटग्रस्त क्षेत्र घोषणा गर्यो । किसानहरु उत्साहित भए, कुनै न कुनै राहत आउला भनेर । तर, रित्तो, केही राहत दिएन,’– उनले भने ।

सरकारले ठूलो समस्यामा रहेका मधेशी जनताको घाउमा मल्हम लगाइदिनुपर्नेमा उनीहरुको परिस्थितिको फाइदा उठाएको उनको दाबी छ । ‘हामीलाई मजाक गरे, हामीसँग रमिता गरे, रेला गरे,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाटमा दुई देशको सम्बन्धबाट कसरी फाइदा लिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतसँगको सम्बन्धलाई सुमधुर बनाउने अवसरको रुपमा चित्रण गरे ।

‘भारतको विदेश मन्त्रालयको प्रमुख सचिव मिश्रीजी आफैं नेपाल आउँदै हुनुहुन्छ र हाम्रो प्रधानमन्त्रीजीलाई औपचारिक रुपले आमन्त्रण दिँदै हुनुहुन्छ । हाम्रो प्रधानमन्त्रीजीको ठूलो इच्छा, प्रधानमन्त्री बनेदेखिकै ठूलो इच्छा दिल्ली जाउँ, मोदीजीलाई भेट्न पाउँ भन्ने उहाँको ठूलो इच्छाको सुनिश्चितता हुँदैछ । भारतले हामीप्रति देखाउको सदाशयताका लागि उहाँहरु धन्यवादको पात्र हुन्,’– उनले भने ।