माओवादीमा अझै सकिएन प्रचण्ड-प्रभाकरको द्वन्द्व, आत्मालोचना नगरेकोमा हेडक्वार्टरको असन्तुष्टि


काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) ले पार्टी स्थायी कमिटी बैठकपछि मातहतका कमिटीहरुमा सर्कूलर पठाएको छ । सर्कूलरमा पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्न अस्वीकार गरेको उल्लेख छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा जनार्दनले आत्मालोचनाभन्दा पनि अस्वीकार गरेको बताइएको छ ।

‘छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्यूटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरीत भएको ठहरसहित स्थायी समिति सदस्यहरुबाट क.प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो,’ सर्कूलरमा भनिएको छ, ‘तर प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषयबाहेक अन्य विषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन । उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो ।’

स्थायी समिति बैठकले पार्टी नेतृत्वविरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै जनार्दनलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको सर्कूलरमा उल्लेख छ । शर्माले पार्टी उपमहासचिवको हैसियतमा विगत चार वर्षदेखि माइन्यूटमा हस्ताक्षर गरेका थिएनन् ।