काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि दुराशय राखेर दिएको अभिव्यक्तिका सन्दर्भमा मूर्त रुपमा आत्मालोचना नगरेको बताएका छन् । पार्टी स्थायी समितिको बैठकबारे जानकारी गराउँदै उनले शर्माले चार वर्षदेखि माइन्युटमा हस्ताक्षर नगरेकोमा हस्ताक्षर गर्ने कुरा सकारात्मक भए आत्मालोचना आवश्यक रहेको बताएका हुन् ।
‘धेरै लामो समयदेखि सही नगरी राखेको सही गर्ने कुरा सकारात्मक भयो । अर्को चाहिँ विचार गोष्ठीमा चाहिँ उहाँले अलिकति नेतृत्वमाथि दुराशययुक्त अभिव्यक्ति दिनुभएको थियो । त्यसको सम्बन्धमा उहाँले मूर्त रुपमा आत्मालोचना गर्नुभएको छैन,’– उनले भने ।
माओवादी उपमहासचिव शर्माले एक विचार गोष्ठी कार्यक्रममा मनमोहनबाहेकका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरुले असुली धन्दा मच्चाएको आरोप लगाएका थिए ।
प्रवक्ता सापकोटाका अनुसार एकाधबाहेक अधिकांश स्थायी समितिका सदस्यहरुले जनार्दनलाई आत्मालोचनाको लागि सुझाव दिएका थिए । ‘स्थायी कमिटी सर्वसम्मत भयो भने पनि हुन्छ, सबैले उहाँलाई तपाईँले स्वीकार गर्नुपर्छ, सर्वथा बेठीक भएको छ भनेर सुझाव दिएका छन् । उहाँले विगतको जस्तो धेरै स्पष्टीकरण दिने जमर्को गर्नुभएन । तर फेरि अलिकति सकारात्मक संकेत देखिएको छ,’– उनले भने ।
जनार्दनमा विचार, राजनीतिक कार्यदिशा, सैद्धान्तिक कुरा र श्रृङ्खलामा पनि नरहेको उनले बताए ।




प्रतिक्रिया