कांग्रेस-एमालेले स्वमूल्याङ्कन कार्यविधिको विरोध गरेको देख्दा दङ्ग पो परियोः माधव नेपाल


काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कांग्रेस-एमालेले निर्वाचन आयोगलाई राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि–२०८२ ठीक छ, अगाडि बढाउ भनिसकेको पाइएको बताएका छन् । पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेस र एमाले, यो दुईवटा पार्टीले निर्वाचन आयोगलाई यो ठीक छ अगाडि बढाउ भनिसकेका रहेछन् । अहिलेका प्रधानमन्त्रीले के भन्दै थिए भने– यो देशमा दुई पार्टी सिस्टममात्रै रहनुपर्छ । अरु पार्टीको कुनै उपादेयता छैन, आवश्यकता छैन ।’

अध्यक्ष नेपालले स्वमूल्याङ्कन पार्टीको आन्तरिक मामिला रहेको बताए । उनले पार्टीका कमीकमजोरी लेखेर स्वमूल्याङ्कन बुझाउन नसकिने बताए ।

‘हाम्रो पार्टीमा यी–यी कमजोरीहरु छन् भनेर लेखेर पठाउने ? हाम्रो पार्टीमा यी–यी राम्रा कुरा छन् लेखेर पठाउने ? अनि उनीहरुले, अरुले थाहा पाउने । थाहा पाएर कहाँ–कहाँ भत्काउनुपर्छ, भत्काउँदै हिँड्न दिने ? हुँदैन । पार्टीको स्वमूल्याङ्कन पार्टीको आन्तरिक मामिला हो । प्रत्येक पार्टीले पार्टीभित्र आफ्नो कामको मूल्याङ्कन गर्नुपर्छ । त्यो मूल्याङ्कनको रिपोर्ट पनि दिने होइन,’– उनले भने ।

कांग्रेस–एमालेले सुरुमा स्वमूल्याङ्कन कार्यविधि अगाडि बढाउन भने पनि आफूहरुले विरोध गरेपछि उनीहरुले पनि त्यसको विरोध गरेको अध्यक्ष नेपालले बताए । कांग्रेस–एमालेले स्वमूल्याङ्कन कार्यविधिको विरोध गरेको देख्दा आफूहरु दङ्ग परेको उनले सुनाए ।