काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । आज (शुक्रबार) नेता श्रेष्ठलाई भेट्नको लागि भुसाल उनको निवास हात्तिवन पुगेका थिए ।
केही दिनअघि मात्रै नेकपाका महासचिव नेत्रविक्रम चन्दले पनि श्रेष्ठसँग हात्तिवन पुगेर भेटवार्ता गरेका थिए । माओवादी, नेकपा (एकीकृत समाजवादी) र नेकपाबीच एकताको लागि गृहकार्य भैरहेको छ । यस्तोमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँगै उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्माले सक्रियता बढाएका छन् ।
उता, नेकपाबाट महासचिव विप्लव आँफै सक्रिय छन् । नेकपा (एकीकृत समाजवादी) बाट महासचिव भुसालले दौडधुप बढाएका छन् । भुसाल र जनार्दनबीच सघन छलफल भैरहेको छ । ललितपुरमा रहेको शर्माको सम्पर्क कार्यालयमा दुई नेताबीच निरन्तर भेटवार्ता भैरहेको स्रोतको दाबी छ ।
माओवादीले नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि गृहकार्य गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले नै एकीकृत समाजवादीका अध्यक्षका माधवकुमार नेपालसँग निरन्तर पार्टी एकताको विषयमा गम्भीर छलफल गरिरहेका छन् ।




प्रतिक्रिया