काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी आरोपमा आफूविरुद्ध चारैतिर घेराबन्दी भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो राजनीति स्वच्छ छवि र भ्रष्टाचारको विरुद्धमा संसद्मा दह्रो रुपमा उभिएपछि अब ठेगान लगाउनुपर्छ भनेर आफूविरुद्ध कांग्रेसकै नेताहरुदेखि चारैतिरबाट षड्यन्त्र भएको उनले बताए । उनले आफूमाथिको सबै आरोप चिर्न आफू सफल भएको बताए ।
‘धनराज गुरुङले नेपाली राजनीतिमा स्वच्छ छवि बनाएर हाइट लिन थाल्यो । धेरै अगाडि बढ्न थाल्यो । संसद्को सचिवालयमा २०४६ साल यता लाभको पदमा पुगेका सबै नेता र सबै कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्छ भनेर पनि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने मै हुँ । अब यही बेलामा सिध्याइएन भने यो मुलुकको सबैभन्दा राम्रो नेता बनेर जन्मिने भयो भनेर चारैतिरबाट षड्यन्त्र भएको छ मेरो विरुद्धमा । बीचमा षड्यन्त्र त गरे । तर प्रमाण पनि छैन, केही पनि छैन,’– उनले भने ।
ज्योति गुरुङले गरेको अपराधमा धनराज गुरुङलाई थुन्नुपर्छ भन्नेहरुलाई उनले महालठ्ठक, बुद्धि नभएका र षड्यन्त्रकारीको संज्ञा दिए । ‘प्रतिशोध साध्नेहरु हुन्, मेरो प्रगतिमा जल्नेहरु हुन् । संसद्मा उभिएर मेरो विरुद्धमा छानविन गर्नुस् भनेर कसैले भनेको छ भने धनराज गुरुङ हो,’– उनले भने ।
आफूविरुद्ध लागेको सहकारी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सबै अनुसन्धान गरिसकेको उनले बताए । तथ्य, प्रमाणले र कुनै संलग्नता नदेखिएपछि आफूले उक्त आरोपबाट सफाइ पाइसकेको उनले बताए । रवि लामिछानेको विषयलाई ल्याएर आफूसँग जोड्नु कुनै न्यायसंगत नहुने उनको भनाइ छ ।
‘रविजीलाई संसदीय समितिले थुनेको होइन, अदालतको आदेशले हो । रास्वपाको अलिकता बुद्धि भए त यो कुरा त मसँग जोडिने विषय नै होइन । निकिता पौडेल जहाँ उभिएको छ, धनराज गुरुङ त्यहीनेर उभिएको छ आजको दिनमा,’– उनले भने ।




प्रतिक्रिया