माधव नेपालविरुद्ध पार्टीभित्रै घेराबन्दीको संकेत, चिढिएका वामदेवले भेटे झलनाथ


काठमाडौं, २४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र अर्का नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि गौतम आज खनाल निवास डल्लुमा पुगेका हुन् । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच गत साउन २ गते एकता भएको थियो । एकतापछि गौतमलाई तेस्रो वरियताको नेता बनाइए पनि उनलाई जिम्मेवारी दिइएको छैन ।

गौतमले पार्टीभित्र संगठन विभागको जिम्मेवारी खोजिरहेका छन् । तर, अहिले संगठन विभागको जिम्मा डा.वेदुराम भुसालले सम्हालिरहेका छन् । स्रोतका अनुसार भुसाल गौतमलाई संगठन विभागको जिम्मेवारी छाड्न मानेका छैनन् ।

यता सम्मानित नेता खनाल र पार्टी अध्यक्ष माधव कुमार नेपालबीच केही समयदेखि वाक् युद्ध चलिरहेको छ । अध्यक्ष नेपाल र खनालले एकले अर्कोलाई पार्टी छाडेर जानसमेत सुझाव दिइसकेका छन् । यस्तो अवस्थामा खनाल र गौतमबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।