शिक्षा विधेयकमा ओली-देउवा नै अनुदार देखिनुभयोः माओवादी नेता घर्ती


काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले सरकार शिक्षा ऐनप्रति अनुदार रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले निवर्तमान शिक्षामनत्रीकै भनाइबाट प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शिक्षा विधेयकप्रति कति अनुदार छन् भन्ने कुरा पुष्टि गर्ने बताएका हुन् ।

‘निवर्तमान शिक्षामन्त्रीकै शब्दमा भन्ने हो भने– शिक्षाप्रति गठबन्धन सरकारको मूल नेतृत्व, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीज्यू नै यसप्रति अनुदार हुनुहुन्छ । जसरी शिक्षालाई व्यवसायीकरण गरिराखिएको छ, यसमा हामीले उनीहरुलाई घाटा लगाउने किसिमले गर्न सकिँदैन भनेर उहाँहरुले भन्नुभएको छ । सरकारको दृष्टिकोण के हो भन्ने कुरा प्रष्टरुपमा छ,’– उनले भने ।

साथै, वर्तमान सरकारले शिक्षकहरुको आन्दोलन र उनीहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताए । उनले भने, ‘शिक्षक महासंघले पूर्ववर्ती सरकारसँग जुन सम्झौता गर्यो । त्यो सम्झौतालाई अहिलेको सरकारले कार्यान्वयन गर्न सकिराखेको छैन । सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सरकारको उदासिनता किन भयो ?’

उनले संविधानले व्यवस्था गरेको निःशुल्क शिक्षाको अधिकारबाट कसैलाई पनि बञ्चित गराउन नहुने बताए । ‘विद्यालयको कुरा गर्ने हो भने पनि निःशुल्क शिक्षाको कुरा हाम्रो संविधानले गरेको छ । तर, विद्यालयमा जाने बेलामा पहिला त हामीले भर्ना शुल्क लिन्छौं । अनि त्यसपछि पढाइको कुरा हुन्छ । संविधानले नै व्यवस्था गरेको नागरिकहरुको अधिकारलाई बञ्चित गर्न हुँदैन भनेर हामीले उठाएका प्रश्न हुन्,’– उनले भने ।

नेता घर्तीले शिक्षालाई व्यापारीकरण गर्न नहुने बताए । शिक्षा, स्वास्थ्यजस्ता नागरिकका नैसर्गिक अधिकार राज्यको दायित्वभित्र पर्नुपर्ने उनको भनाइ छ । निःशुल्क स्वास्थ्य, शिक्षाका बारेमा राज्यले नियमन गर्नुपर्ने उनको भनाइ छ ।