सरकारको कामबाट जनता खुसी छैनन्ः कांग्रेस नेता जबरा


काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनता खुसी नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कतिपय कुरामा जनता असन्तुष्ट रहेको बताएका हुन् । नेता जबराल सरकारको कतिपय काम कारबाही आफूहरुले पनि बुझ्न नसकिराखेको बताए ।

‘अहिले सरकारको कामबाट जनता धेरै खुसी छैनन् । यो सरकारले गरेको कतिपय काम हामीलाई पनि बुझाउन सकिरहेको छैन । कतिपय कुरामा असन्तुष्टि आएको छ । हामीले कतिपय कुराहरु व्यवस्थापन गर्न नसकेको हो,’– उनले भने ।

साथै, सरकारसँग असन्तुष्टि हुँदा हुँदै पनि अहिले कांग्रेस–एमाले गठबन्धन सरकारको विकल्प नरहेको उनले बताए । कांग्रेस अथवा एमालेले सरकार छाड्दा फेरि बन्ने सरकार अस्थिर हुने उनले बताए । अहिलेको कांग्रेस–एमाले गठबन्धन सरकारलाई आगामी २०८४ को निर्वाचनसम्मै पुर्याइनुपर्ने बताए ।

‘अहिले हामीसँग, एमालेसँग, कोहीसँग पनि विकल्प छैन । हामीले सरकार छाड्दा फेरि स्थिर सरकार बन्दैन । अहिले दुईवटा पार्टी मिलेर, एक दुई साना पार्टी थपेर सरकार बनेको छ । हामी अथवा एमाले बाहिरिए पनि पाँच सातवटा पार्टीसँग मिलेर काम गर्नुपर्छ । त्यसैले यसलाई चुनावसम्म पुर्याउँ,’– उनले भने ।

साथै, कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा भएको सहमतिअनुसार संविधान संशोधनको काम अगाडि बढ्न नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । संविधान नै संशोधन गरेर स्थिर सरकार बनाउनेतर्फ ध्यान दिइनुपर्ने उनको भनाइ छ ।

‘हामीले जुन सात बुँदेमा एउटा बुदामा संविधानमा पनि स्थिर सरकार ल्याउने वातावरण कसरी सिर्जना गर्न सकिन्छ । त्यतातिर लाग्नुपर्नेमा यो सरकारबाट धेरै कमजोरी भएको छ । किनभने जुन प्रक्रिया सुरु हुनुपर्थ्यो, त्यो सुरु भएको छैन,’– उनले भने ।