काठमाडौं, २५ साउन । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले आफूले वहन गर्नुपर्ने बिगोबराबरको बैंक जमानतको आधारमा थुनामुक्त गरिपाऊँ भनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदन एकदमै चाखलाग्दो रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बिगोबराबरको बैंक जमानत लिएर रिहा गरिपाऊँ भनी लामिछानेले निवेदन दिएर अपराध स्वीकार गरेको बताएका हुन् । यस्तो अवस्थामा लामिछाने छुट्ने मौका भने एकदमै कम रहेको बताए ।
‘रविजीले दिएको निवेदन चाहिँ भेरी इन्ट्रेष्टिङ छ । उहाँको मुद्दामा निर्णय भएको छैन । अपराध कायम हुँदामात्रै विगो कायम हुन्छ । अपराध कायम भएन भने विगो कायम हुँदैन । बिगो बुझाएर बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिनुभएको छ । बिगो बुझाउनु भनेको अपराध स्वीकार गर्नु हो । त्यसैले अपराध स्वीकार गरेपछि उहाँ बाहिर आउने चान्स चाहिँ कम हुन्छ,’– उनले भने ।
लामिछानेले दिएको निवेदन उनकै प्रतिकूलतामा रहेको वरिष्ठ अधिवक्ता भण्डारीको दाबी छ । सो मुद्दाको पुर्पक्षका क्रममा जिल्ला अदालतले धरौटीमा राखे पनि उच्च अदालतले उनलाई थुनामै राख्न आदेश दिएको र सर्वोच्च अदालतले पनि उच्चकै आदेशलाई सदर गरेको उनले बताए । बिगो नै बुझाएर बाहिर रहेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्नुको अर्थ अपराध स्वीकार गर्नु रहेको उनले बताए ।
‘उहाँको मुद्दामा पुर्पक्ष हुँदाखेरी जिल्ला अदालतले धरौटी माग्यो । उच्च अदालतले थुनामा राख्यो । सर्वोच्चले उच्चको आदेशलाई निरन्तरता दिएपछि थुनामा राख्नुपर्ने भयो । त्यो भन्दा पछाडि कुनै पनि प्रमाण फेला परेर रविजी निर्दोष देखिएको अवस्था छैन । यी–यी प्रमाणले म निर्दोष देखिएँ । त्यसकारणले मलाई थुनाबाट मुक्त गरी, धरौटीमा राखी मुद्दाको पुर्पक्ष गरिपाऊँ भनेको भए त्यो दफा ७१ अन्तर्गतको प्रक्रिया हुनेथियो । तर, अहिले बिगो नै बुझाएर म बाहिर रहेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्नुको अर्थ अपराध स्वीकार गर्नु हो । यो निवेदन चाहिँ उहाँको आफ्नै प्रतिकूलतामा छ । उहाँको हितमा छैन,’– उनले भने ।
लामिछानेले बिगो बुझाएर थुनामुक्त हुने सुविधा पाएको खण्डमा अन्य कैदीबन्दीले पनि त्यो खालको सुविधा पाउनुपर्ने वरिष्ठ अधिवक्ता भण्डारीको तर्क छ । उनले भने, ‘रविजीले त्यो पाउनुभयो भने अरुले पनि त्यो पाउनुपर्छ । फेरि रविजीको केस भनेको विगो बुझाएरमात्रै समाधान हुने केस होइन । अपराधमा बिगो, बिगोबमोजिमको जरिवाना र कैद पनि हुन्छ । कति कैद हुन्छ उहाँलाई अहिले थाहा छैन । उहाँको १२ वर्षसम्म कैद हुने मुद्दा हो ।’




प्रतिक्रिया