एमालेको विभाजनको लागि रोपिएको बिउबाट मकै फल्दैन : सूर्य थापा (भिडिओ सहित)


काठमाडौं, २७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले एमालेभित्र विभाजनको लागि रोपिएको बिउबाट मकै नफल्ने टिप्पणी गरेका छन् । उनले भने,‘जुन विभाजनको बिउ रोप्ने कोशिस भएको छ, त्यो बिउबाट मकै फल्दैन, कालीपोकेमात्रै फल्छ । मकैको घोगा लाग्दैन ।’

उनले एमालेभित्र नेतृत्वको लागि प्रतिष्पर्धा गर्ने अधिकार जबजको मार्गदर्शनमा सबैलाई भएको स्मरण गराए । पार्टीको ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेतृत्वको लागि प्रतिष्पर्धाको मनोदर्शन र मनस्थितिमा नभएको थापाको जिकिर छ । हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म उहाँको कुरा बुझ्नै नै मान्छे हुँ ।हाम्रो स्पष्ट कुरा छ, चीनमा सि जिनपिङको नेतृत्वमा बलियो लिडरसिपको खोजी भयो, रुसमा पुटिनको नेतृत्वमा बलियो लिडरसिप भयो । भारतमा पनि नरेन्द्र मोदीको नेतृत्वमा बलियो लिडरसिपको कुरा भयो । तेस्रो कार्यकाल चल्दैछ । नेपालमा यो हाराहारीको बलियो लिडरसिप चाहिएको छ । यहाँ अस्थिरता चाहनेहरुको लागि यो असह्य भएको छ ।’