एमाले पँक्तिलाई पार्टीको भविष्यबारे सोच्न माओवादी नेता पौडेलको सुझाव, माओवादीमा समस्या नरहेको दाबी (भिडिओ सहित)


काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमालेले रोकेरमात्रै नेपालका वामपन्थीहरुबीचको एकता नरोकिने बताएका छन् । एमालेभित्र पनि वाम एकता चाहनेहरुको संख्या ठूलो रहेको उनको दाबी छ । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको बारेमा गरेको टिप्पणीप्रति पनि असहमति राखे । उनले मदन भण्डारी फाउण्डेशनलाई नै पार्टीभित्र गुटबन्दी गर्ने थलोको रुपमा ओलीले प्रयोग गरेको आरोप लगाए । एमाले अध्यक्ष ओलीले आफ्ना विरोधीलाई कित्ताकाट गर्दै जाने र किराना लगाउँदै जाने हो भने भोलि एमाले कहाँ पुग्छ भनेर सोच्नपनि उनले एमाले पँक्तिलाई सुझाव दिए ।

उनले माओवादीभित्र अहिले कुनै समस्या नरहेको स्पष्ट पारे । उनले उपमहासचिव जनार्दन शर्मा पनि पूरानै पुस्ताको नेता भएको र पटक पटक कार्यकारी पदको जिम्मेवारी लिएको स्मरण गराए । नयाँ सोच, विचार लिएर आउनको लागि पनि जनार्दनलाई भनिएको उनको भनाई छ ।

उनले नेकपा (माओवादी केन्द्र) विभिन्न दल र समूहसँग एकताको लागि प्रक्रियामा रहेको सुनाए । एकताको लागि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि छलफल चलिरहेको पौडेलले जानकारी दिए । उनले एमालेबाहेकका वापमन्थीहरुसँग एकता गर्दै अघि बढ्ने आफूहरुको योजना रहेको बताए ।