काठमाडौँ, २७ साउन । ३१औं विश्व आदिवासी दिवसको अवसरमा ‘आदिवासीहरूको भविष्य र एआइ’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा आदिवासी जनजातिको हक अधिकार र भविष्य सुरक्षित गर्न प्रविधिको प्रयोगमा सचेत भएर लाग्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, अधिकारकर्मी, अनुसन्धानकर्ता, नागरिक अगुवा तथा आदिवासी जनजातिका सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।
उनीहरूले प्रविधिको बढ्दो प्रयोगले परम्परागत ज्ञान र सीप जोगाउने नामम कतै मौलिक भाषा र सीप त लोप हुँदैन भन्ने चिन्ता समेत व्यक्त गरे । साथै उनीहरूले एआइको प्रयोगमार्फत आदिवासी भाषाको अभिलेखीकरण, सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण र आर्थिक अवसर सिर्जनासम्बन्धी सुझाव दिए ।
कार्यकममा आदिवासी जनजाति आयोगका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष एवं सल्लाहकार रामबहादुर थापा मगरले प्रविधिको द्रूत विकासले आदिवासी जनजातिको हक अधिकार सुरक्षित गर्न सचेत र सक्रिय रहनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘ अहिले प्रविधिको विकास तीव्र गतिमा विकास भइरहेको छ। तर, आदिवासी जनजातिको आफ्नै परम्परागत सीप र ज्ञान छ । यसमा प्रविधिको प्रयोग सचेत भएर गर्नुपर्छ। हाम्रा हक र अधिकार पाउन पनि प्रविधिमा सक्रिय रहनु आवश्यकता छ।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विद्यार्थीस्तरमै प्रविधि र यसको प्रयोगबारेको ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘ आजको पुस्ताले एआईलाई केवल उपभोक्ता भएर होइन, सिर्जनाकर्ता भएर आत्मसात् गर्नुपर्छ। हामीले प्रविधिको प्रयोगले हाम्रो सामुदायिक ज्ञानलाई डिजिटल रुपान्तरण गर्दै आगामी पुस्ताका लागि सुरक्षित राख्नुपर्छ।’
प्रविधि आदिवासीको हक र अधिकारका लागि अभिषाप नभई बरदान हुन सक्ने भन्दै यसको सही सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा एआइ विज्ञ नवराज गुरुङले कृत्रिम बुद्धिमत्ताको आधारभूत सिद्धान्त, यसका प्रयोगका सम्भावना तथा आदिवासी समुदायका लागि यसले ल्याउने अवसर र जोखिमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । साथै टहल थामीले ‘आदिवासीहरूको भविष्य र एआइ’ शीर्षक कार्यपत्रमा नीतिगत तयारी, स्रोत साधनको पहुँच र प्रविधि–मैत्री शैक्षिक संरचना निर्माणको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा आदिवासी जनजाति विद्यार्थी, अधिकारकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






प्रतिक्रिया