नेपालगञ्ज–नयाँ दिल्ली उडान भए भारतलाई पनि फाईदा हुन्छ : सुधांशु कोइराला
काठमाडौं, २७ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले नेपालगञ्ज–नयाँ दिल्ली उडान गराउन सके पश्चिम नेपालको विकास र समृद्धि हुने विश्वास दिलाएका छन् । नेपालगञ्जबाट नयाँ दिल्ली उडानको लागि बाँकेका स्थानीय, प्रदेश र संघीय सबै तहका जनप्रतिनिधिहरू र राजनीतिक दलहरुबीच साझा सहमति बनेको बेलामा मेयर बिष्टले नेपालगञ्ज एयरपोर्ट सबै हिसाबले अन्तर्राष्ट्रिय उडानको लागि सक्षम रहेको बताए ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले नेपालगञ्ज एयरपोर्ट स्तरोन्नती भैसकेको र काठमाडौंबाट दैनिक १२ वटा जहाजले उडान भर्ने गरेको स्पष्ट पारे । उनले भने,‘सर्वदलीय र सर्वपक्षीय बैठक राखेर यो म्याण्डेट लिएका छौं । सुदूरपश्चिम, कर्णाली प्रदेशको समर्थन प्राप्त भएको छ । पश्चिम नेपालको समृद्धको लागि नेपालगञ्जदेखि दिल्ली उडानको ढोका खुल्नुपर्छ । रुट प्रमाणित भएको छ । प्राविधिक रुपमा पनि यो विमानस्थल सक्षम भएको छ । तीन अर्बभन्दा बढि लगानीमा स्तरोन्नती भएको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीलगायत सबै सरोकारवालालाई भेटेपछि हामी आशावादी छौं ।’
उनले भरतबाट धेरै तिर्थयात्रीहरु नेपालगञ्ज हुँदै मानसरोवर जाने गरेको उल्लेख गर्दै नेपालको पर्यटन क्षेत्रको विकासको लागि पनि नेपालगञ्ज–नयाँ दिल्ली उडान हुँदा धेरै टेवा पुग्ने बताए । नेपालगञ्जसँग नजिक रहेको अयोध्या (राम जन्मुभूमी) का पर्यटक नेपाल ल्याउनको लागि पनि यो उडानपछि सहज हुने विश्वस दिलाए । उनले आफूहरुले नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मुर्ती बनाउन लागिएको पनि जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेस बाँकेका प्रभावशाली नेता तथा जिल्ला सचिव सुधांशु कोइरालाले पनि समग्र क्षेत्रको विकासको लागि पनि नेपालगञ्ज–नयाँ दिल्ली उडान आवश्यक रहेको औंल्याएका छन् । उनले भने,‘नेपालगञ्ज एयरपोर्टमा अन्तर्राष्ट्रिय टर्मिनल तयार भैसकेको छ । जाजरकोटमा भूकम्प आएको बेलामा भारतीय वायुसेनाको जहाज आएका थिए । ती सबै जहाज सहजै अवतरण भएका थिए । त्यसले के देखाउँछ भने नेपालगञ्जबाट कम्तिमा पनि भारतको नयाँ दिल्ली, मुम्बई, देहरादुनमा फ्लाईट गर्न सकिन्छ । नेपालगञ्ज–नयाँ दिल्ली जोड्न सकियो भने नेपालगञ्ज र बाँकेमात्रै नभएर कर्णाली र सुदूरपश्चिमलाई पनि टेवा पुग्नेछ ।’

उनले आफूहरु सबैको प्रतिबद्धता, साथ र सहयोग लिएर काठमाडौं आएको र सरोकारवालाका प्रमुखहरुसँग भेटेको सुनाए । नेपालगञ्ज मानसरोवरको पनि गेटवे, बर्दिया राष्ट्रिय निकुञ्ज र रारा जानको लागि पनि गेटवे भएकोले नेपालगञ्जबाट भारत उडान भर्न सकने देशको विकासको लागि पनि ठूलो योगदान पुग्ने विश्वास दिलाए । उनले नेपालका लागि मात्रै नभएर भारतका लागि पनि सहजीकरण गर्ने सुनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका ेक्रममा नेपालगञ्ज–नयाँ दिल्लीको उडानको कुरा उठाउनुपर्ने सुझाव दिए ।




प्रतिक्रिया