काठमाडौं, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले पार्टीभित्र प्रजातान्त्रिक अभ्यासमा नचलेको आरोप लगाएका छन् । उनले अध्यक्ष राजेन्द्र लिङ्देन प्रजातान्त्रिक विधि र विधानअनुसार नचलेको गम्भीर आरोप लगाए । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले एकलौटी पार्टी कब्जा गर्न खोज्दा अहिले विवाद भएको बताए ।
उनले भने,‘म त पार्टीभित्र झगडा गर्ने कहिल्यैपनि पक्षमा भईनँ, म त अहिंसामा विश्वासमा गर्ने मान्छे हुँ । चित्त बुझेन भने फरक मत राख्न दिनुपर्छ भन्ने मानिस हो ।’पार्टीबाट कार्यकर्ताहरुलाई बेइज्जत गरेर फेसबुकमार्फत निकाल्न थालेपछि विवाद सुरु भएको उनको दाबी छ । उनले आफूहरुले कोहीबाट पनि पैसा नपाएको र कसैलाई पनि नबाँडेको दाबी गरे । अहिले बाहिर आएका हल्ला काल्पनिक भएको उनको टिप्पणी छ ।
उनले आफू कहिल्यैपनि पार्टी फुटाउने पक्षमा नभएको जिकिर गरे । उनले भने,‘म पार्टी फुटाउने पक्षमा छैन । धेरै मेहनत गरेर धेरै नेताहरुलाई एक ठाउँमा जुटाएको पनि हो । पार्टी मिलाउने क्रममा म लागेकै हुँ । प्रजातान्त्रिक तवरले चलाउनुपर्छ भनेर प्रयास भएको छ ।’




प्रतिक्रिया