काठमाडौं, २९ साउन । परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. विजयकान्त कर्णले नेपाल र भारतबीच पछिल्लो समय राजनीतिक तहमा केही असमझदारी बढेको देखिएको टिप्पणी गरेका छन् । त्यही असमझदारीको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण एक वर्षपछि हुन लागेको उनको भनाई छ ।
आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण त हुने नै भएको छ, पर्सी भारतको विदेशसचिव आउँदै हुनुहुन्छ, भ्रमणको तयारीको क्रममा विभिन्न मुद्दाहरुमा छलफल बाँकी होला, त्यसको लागि आउनुभएको होला । उहाँ दुई दिनको लागि आउँदै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनपनि पर्ने भएकोले त्यो अवसरमा जन्मदिनको शुभकामना पनि प्रदान गर्ने भएकोले त्यो खुशीको कुरा भएको उनको प्रतिक्रिया छ । उनले भने,‘झनै राम्रो कुरा भयो, नेपालका प्रधानमन्त्रीले भारतको प्रधानमन्त्रीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुहुनेछ । खुशीको अवसर हुनेछ । उहाँको दीर्घायुको कामना गर्नुहुनेछ । त्यो त अर्को अवसरको कुरा हो ।’ उनले जनस्तर र अरु लेभलमा दुई देशबीच सम्बन्ध राम्रो रहेको बताए ।




प्रतिक्रिया