गिरीराजले औंल्याए माओवादीका कमजोरीः वैचारिक अस्पष्टतादेखि गठबन्धन संस्कृतिसम्म


काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरीराजमणि पोखरेलले पार्टीमा वैचारिक अस्पष्टता रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वैचारिक अस्पष्टता पार्टीभित्र ठूलो रोग बनेर देखापरेको बताएका हुन् ।

‘पहिलो कुरा जुन पृष्ठभूमिमा हामी ठूलो पार्टी बनेर आयौं, हामी क्रान्तिकारी पार्टी थियौं । अहिले हामीले हाम्रो पार्टीको चार/पाँच वटा मुख्य समस्याको रुपमा पहिचान गरेका छौं । हामीले वैचारिक ढंगले जो अस्पष्टतालाई चिर्नुपर्थ्यो । एउटा हाम्रो ठूलो रोग त्यो छ,’– उनले भने ।

त्यस्तै, उपमहासचिव पोखरेलले दोस्रो ठूलो समस्या पार्टी विधि र पद्धतिमा नचलेको बताए । पार्टीभित्र गुटहरु र स्वार्थी समूहहरु हाबी हुन थालेको उनको भनाइ छ ।

त्यस्तै, माओवादीले आफ्नो वर्ग छाडेको पनि उनले बताए । माओवादीले जनमतको रक्षा गर्न नसकेको, आफ्नो पार्टीको मुद्दा लिएर जनतामाझ जानुको सट्टामा गठबन्धनको संस्कृतिमा जानु गलत भएको उनको भनाइ छ ।

‘हामी जुन वर्गका लागि लडेका थियौं, त्यो वर्ग छोड्यौं । उत्पीडित समूदाय पनि छोड्यौं । चौथो कुरा हामीले जुनखालको संस्कृतिलाई अवलम्बन गरेका थियौं, जनवादी संस्कृतिको रक्षा गर्दै समाजवाद उन्मुख जानुपर्थ्यो । हामीले त्यो छोड्यौं । अथवा त्यसमा कमजोरी भयो । अर्को कुरा हामीले जनमतलाई रक्षा गर्नुपर्थ्यो, त्यसमा पनि कमी भए । अर्को महत्वपूर्ण कुरा माओवादी आन्दोलनमा विभाजन, अर्को कुरा चाहिँ गठबन्धनको संस्कृतितर्फ जानु । आफ्नो पार्टीको मुद्दालाई लिएर आफ्नो एकल खुट्टामा उभिएर नजानु,’– उनले भने ।