काठमाडौं, २९ साउन । गायक, संगीतकार एवं एरेन्जर सञ्जय खड्गी ‘एम्बेस्डर फर पीस’ पुरस्कारबाट सम्मानित भएका छन् । युनाइटेड नेसन्स इन्टरनेशनल युथ डे–२०२५ को अवसरमा युथ फेडेरेशन अफ नेपालले खड्गीलाई ‘एम्बेस्डर फर पीस’ पुरस्कारबाट सम्मान गरेको हो । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएवापत उनलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । गायक एवं संगीतकार खड्गी लगातार तीन दशकदेखि संगीत साधनामा छन् ।
गायक एवं संगीतकार खड्गीले ‘तिमी बिना बाँच्न सक्दिनँ’ गीत बाट २०५६ सालमा हिट्स एफएम अवार्डमा गायन विधामा छनोटमा परेपछि संगीतको क्षेत्रबाट फर्किनु परेन । तेसो त उनले नेपालको सबभन्दा पुरानो राष्ट्रिय संस्था रेडियो नेपालबाट २०५० सालमा स्वर परीक्षा पास गरी संगीतकार बुलु मुकारुङ, भुपेन्द्र रायमाझी, कृष्णमान र इस्वर जोशीको संगीतमा समेत गाइसका छन् ।
गायक एवं संगीतकार खड्गीले उस्तादद्वय कुमारलाल श्रेष्ठ, मोहन प्रसाद जोशीसँग संगीत शिक्षा लिएर भारतको इलाहाबादबाट शास्त्रीय गायनमा डिप्लोमा परिक्षामा स्वर्णसमेत प्राप्त गरेका छन् ।
उनी संगीतको विभिन्न बिधामा अध्ययन गर्दै पेशाले हाल संगीत संयोजन (एरेन्जर) को रुप कार्यरत छन् । आफ्नै आवाजमा सयौ गीत रेकर्ड र आनन्द कार्की, रामकृष्ण ढकाल, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, अञ्जु पन्तदेखि थुप्रै नयाँ÷पुराना गायक गायिकासँग काम गरेको उनीसँग अनुभव छ ।
खड्गीले जापानीज भाषा काराओके–२०१३ मा जापानिज राजदूतबाट समेत प्रथम पुरस्कर प्राप्त गरिसकेका छन् । उनी विभिन्न संघ÷संस्थाबाट सम्मानित भइसकेका छन् ।







प्रतिक्रिया