काठमाडौं, २९ साउन । रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राखिएको कोठाको झ्यालमा लगाइएको प्लाइउड हटाइएको छ । कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी गराएको हो । ‘उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ,’– कारागारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लामिछाने विगत चार महिनादेखि रूपन्देही कारागारमा थुनामा छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्वित प्रतिनिधि सभा सदस्य लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भदेखि नै छुट्टै बन्दीगृहको कोठामा राखिएको थियो । उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था रहेको छ ।
लामिछानेलाई प्रारम्भ देखि नै टेलिफोन तथा भेटघाट गर्ने सुविधा उपलब्ध गराइएको कारागार प्रशासनको भनाइ छ । कूल २ सय ५० जना बन्दी राख्ने क्षमता रहेपनि हाल ६ सय ४० जना बन्दीलाई राख्नु परेको कारागार प्रशासनले बताएको छ ।




प्रतिक्रिया