प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भूमि आयोग हटाएर भूमाफिया आयोग नाम राख्नुहोस, सुकुम्बासीलाई जग्गा दिन कुन कानूनले रोकेको छ ?


काठमाडौं, २९ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार भूमाफियाको सेवामा लागेको र भूमाफियालाई जग्गा दिएर आफ्नो भुँडी भर्न लागेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सरकारले सुकुम्बासीको नाममा हुकुमबासीलाई जग्गा वितरण गर्न खोजेको भन्दै विरोध जनाए ।

यस्तै, उनले हदबन्दी छुटमा जग्गा लिएकाहरूले अहिले प्रयोजन परिवर्तन गरेर जग्गाको प्लटिङ र हाउजिङ व्यवसायको लागि मन्त्रालयसमक्ष निवेदन दिएको भन्दै गलत काम नगर्न भूमिमन्त्रीलाई सचेत गराए । उनले भने,‘नेपालमा हदबन्दी छुटमा जग्गा लिएकाहरुको संख्या कति छ ? कुन कम्पनीले कुन प्रयोजनको लागि कति जग्गा लिएको छ ? हामी जान्न चाहन्छौं–अहिले ती जग्गाको स्थिति के छ ? यो विषय स्पष्ट गरियोस । भूमिसुधार मन्त्रालयको जानकारीअनुसार कृषि शिक्षा र स्वास्थ्य प्रयोजनको लागि हदबन्दी छुट लिईएका जग्गाहरु अहिले घरजग्गा कारोबारको लागि रुपान्तरण गरियोस भनेर निवेदन आएको छ भन्ने सुन्नमा आएको छ, झण्डै एक सय वटा कम्पनीले आफूले जुन प्रयोजनको लागि लिईएको, त्यो नभएर अब घरजग्गा कारोबार, हाउजिङ र प्लटिङको लागि निवेदन दिएका छन् । हामी जान्न चाहनछौं–ती कम्पनीहरु कुन कुन छन् ? ती निवेदनमाथि के छानबिन भयो ? के कारबाही भयो ? अथवा के सम्बोधन भएको हो ? हो भने किन गोप्य राखियो । भूमिसुबधारमन्त्रीलाई सोध्न चाहन्छु–यसलाई किन गोप्य राख्नुहुन्छ ?’

पूर्व भूमिसुधारमन्त्रीसमेत रहेका सांसद साहले भूमिहीन, दलित र सुकुम्बासीले किन अधिकार पाएनन् ? भनेर पनि सरकारलाई प्रश्न सोधे । उनले भने,‘संविधानमा व्यवसस्था गरिएको हक किन प्रयोग गर्नुभएन ? कानून अभाव नभन्नुहोस । म कानून मन्त्रालय र भूमि सुधार मन्त्रालय चलाएर आएको व्यक्ति हुँु, कुन दफाले रोकेको छ ? मलाई देखाउनुहोस । ४० सालदेखि सुकुम्बासीको नाममा जग्गा हुकुमबासीलाई बाँड्नुभएको छ, अहिले कुन दफाको अभाव भयो । उहाँले सुकुम्बासीको नाममा अर्कै खेल गर्न खोजिरहनभुएको छ, म आग्रह गर्न चाहन्छु । यो सुकुम्बासीको नामा यो तमाशा बन्द गर्नुहोस । तपाईंहरुको सिधा खेल हो सुकुम्बासीको नाममा भूमाफियलाई दिएर आफ्नो भुँडी भर्ने काम हो । यो आयोगको नाममा भूमि आयोग होईन, भूमाफिया आयोग बनाउनुहोस । भूमि विद्येयकको नाम पनि भूमाफियालाई जग्गा दिने विद्येयक भन्नुहोस ।’

उनले सरकारी डाटाअनुसार देशमा ७९ हजार सुकुम्बासीलाई जग्गा दिन बाँकी छ भएपनि अहिले प्रधानमन्त्री ओली ९ लाखको डाटा लिएर बसेको भन्दै प्रश्न उठाए । उनले भने,‘कृषि समितिमा पनि छलफल चलिरहेको छ, तपाईंहरुको काम सबै वाच गरेर बसेका छौं । जंगल, निकुञ्जको जग्गा दिने हो । हिजो राजा, महाराजाहरुले बिर्ता दिने गर्दथे, तर उनीहरुले आफ्नो आसेपासेलाई दिन्थे ।’