काठमाडौँ, २९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा किसानले मलको हाहाकार झेलिरहेकाले यथाशीघ्र उपलब्ध गराउन सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले रोपाइँको समयमा पनि मल उपलब्ध हुन नसक्दा किसान मारमा परेकाले सो विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिएका हुन् ।
सांसद भिमप्रसाद आचार्यले भने, “दुःख गरेर बाली लगाएकामा मलको अभाव छ । खडेरीको मारमा थिए किसान अहिले मलको अभाव झेलिरहेका छन् । हरेक वर्ष मल अभाव किन हुन्छ ? समयमा यसको व्यवस्थापन किन गरिँदैन ? यसको सम्बोधन हुनुपर्छ ।”।
सांसद रामहरि खतिवडाले देशभर मलको हाहाकार देखिएकाले समस्या हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले लम्पी स्किन रोगले देशभर वस्तुभाउ मरेर आक्रन्त पारेकाले यसमा पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।
सांसद रामकुमार राई, सांसद रामशंकर यादव र सांसद रामकृष्ण यादवले मल अभाव हुन नदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।
यसैगरी सांसद भानुभक्त जोशीले वर्षायाम सुरुभएसँगै देशका विभिन्न सडकहरु अस्तव्यस्त देखिएकाले दुरदराजका सडकको स्तरोन्नतिको माग गरे ।
सांसद महेशकुमार बर्तौलाले नेपाली महिला फुटबल टिम विश्व फिफा वरियतामा १३औँ स्थानमा उक्लेको उदाहरण दिँदै सरकारले खेलकुद क्षेत्रमा उचित र उपयुक्त वातावरण दिएमा उत्कृष्ट योगदान दिन सक्ने बताए । उनले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने धारणा राखे ।
सांसद महेश बस्नेतले बर्सातको समयमा बाढीपहिरोले पूल बगाउने समस्या भएकाले चाँडो यातायात सञ्चालन गर्न बेलिब्रिज उपयुक्त हुने बताउँदै बेलिब्रिज निर्माण गर्न सक्ने इन्जिनियर उत्पादन गर्नुपर्ने बताए ।
सांसद माधव सापकोटाले तातोपानी र केरुङ नाका तत्काल सञ्चालन गर्नुपर्ने नभए चाडपर्वको बेला महङ्गीको मार खेप्नुपर्ने सम्भावना रहेको उल्लेख गरे । रासस




प्रतिक्रिया