काठमाडौँ, २९ साउन । सङ्घीय संसद् प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् । शून्य समयमा सांसदहरुले सर्पदंश, मानव तस्करी, लम्पी स्किन, शैक्षिक गुणस्तरलगायतका विषयमा आफ्ना धारणा राखेका हुन् ।
सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका विद्यार्थीबाट भएको तोडफोड गैरकानुनी र निन्दनीय रहेकाले विश्वविद्यालयलाई सुरक्षित, मर्यादित र प्राज्ञिक वातावरण बनाउन र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।
सांसद मीना तामाङले काभ्रेको पाँचखाल नगरपालिका–७, ८, ९ र १० मा मानव तस्करले गरिबीको बहानामा ललाइफकाइ गर्दै अङ्ग बेच्न बाध्य बनाएको बताउँदै तस्कर नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद मेटमणी चौधरीले सर्पदंश रोकथामकालागि गढवा गाउँपालिका–७ दाङ देउखुरीमा सर्पदंश उपचार केन्द्र स्थापना भएपनि दक्ष जनशक्ति र संरचनाको अभावमा सञ्चालन हुन नसकेको बताए । उनले दक्ष जनशक्ति र आइसियू र भेन्टिलेटरको सुविधा माग गरे ।
सांसद मैना कार्कीले तराईमा खाद्यान्नजस्तै धान, गहुँ, तरकारी आदिमा र पहाडमा फलफूलको अर्गानिक क्षेत्र बनाउन सकिने धारणा राखिन् ।
सांसद योगेन्द्र मण्डलले हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे । सांसद रणकुमारी बलम्पाकी मगरले शैक्षिक सुधार अपरिहार्य भएकाले यसलाई गुणस्तरीय र रोजगारमुखी बनाउनुपर्ने बताइन् ।
सांसद राजेन्द्रकुमार केसीले लम्पी स्किनको उपचार भनेकै खोप दिनुपर्ने भएकाले केन्द्रीय सरकारले खोपको उपलब्धता गराउनुपर्ने माग राखे ।
सांसद रमा कोइराला पौड्यालले चालु आर्थिक वर्षमा प्रदूषण मापनका लागि आधुनिक प्रविधि प्रयोग गरिने, यातायात प्रणालीलाई वातावरणमैत्री बनाउन विद्युतीय बस थप्नेलगायतका योजनाहरुको विवरण माग गरिन् ।
सांसद मेनकाकुमारी पोखरेल, सांसद रञ्जुकुमारी झा, सांसद रणेन्द्र बराली, सांसद लालप्रसाद सावा लिम्बु, सांसद मंगलप्रसाद गुप्ता, सांसद रमा कोइराला पौड्याल, सांसदरेखा शर्मा, सांसद रुपा शोशी चौधरी र सांसद रुक्मिणी राना बराइलीले आफ्ना धारणा संसद्मा राखे । रासस




प्रतिक्रिया