भारतले राष्ट्रमण्डल खेलकुद आयोजनाका लागि दाबी गर्ने


नयाँदिल्ली, २९ साउन । भारतले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजनाका लागि दाबी गर्ने बताएको छ । यसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्न क्रिकेट प्रेमी भारतले गरेको व्यापक दबाबको एक भागका रूपमा हेरिएको छ ।

“हाम्रो तयारी अगाडि बढ्नेछ”, स्थानीय सञ्चारमाध्यमका अनुसार भारतीय ओलम्पिक सङ्घ (आइओए) का अध्यक्ष पिटी उषाले बुधबारको बैठकपछि भने ।

राजधानी नयाँदिल्लीले सन् २०१० को राष्ट्रमण्डल खेलकुदको आयोजना गरेको थियो । उक्त आयोजना निर्माण ढिलाइ, कमजोर पूर्वाधार र भ्रष्टाचारको आरोपले चिह्नित थियो र अहिले सोही सहरलाई आयोजक सहरका रूपमा विचार भइरहेको छ ।

पूर्वी राज्य ओडिसाको भुवनेश्वर अर्को विकल्प हो ।

तर भारतीय मिडियाले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको प्रमुख सहर अहमदाबादबारे जानकारी दिइरहेका छन् ।

यस सहरमा एक लाख ३० हजार सिट क्षमताको रङ्गशाला छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम हो । यसको नाम मोदीको नाममा राखिएको छ । यसले सन् २०२३ क्रिकेट विश्वकप फाइनल आयोजना गरेको थियो ।

भारतले गत वर्ष सन् २०३६ को खेलकुद आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा औपचारिक आशय पत्र पेश गरेको थियो ।

भारतले दुईपटक क्रिकेट र एसियाली खेलकुदका लागि विश्वकप आयोजना गरेको छ र सेप्टेम्बरमा महिला विश्वकप क्रिकेटको सह–आयोजना गर्नेछ ।

नाइजेरिया र कम्तीमा दुई अन्य राष्ट्रले राष्ट्रमण्डल खेलकुद आयोजना गर्न चासो देखाएको रिपोर्ट छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यले लागत उल्लेख गरेर राष्ट्रमण्डल खेलकुद आयोजकबाट नाम फिर्ता लिएपछि सन् २०२६ का लागि प्रतिस्थापन आयोजक खोज्न सङ्घर्ष गरेको थियो ।

ग्लासगोले हस्तक्षेप गर्‍यो र घटाइएको संस्करण आयोजना गर्नेछ । आइओएको अनुमोदनपछि, भारतसँग औपचारिक दाबी पेश गर्न अगस्टको अन्त्यसम्म समय छ ।

निर्णय नोभेम्बरमा ग्लासगोमा लिइनेछ । भारतले दाबी जितेको अवस्थमा राष्ट्रमण्डल खेलकुद ‘पूर्ण–विकसित’ कार्यक्रम हुने बताएको छ ।

“हामीसँग राम्रो भएका सबै खेलहरू हुनेछन् र अधिकतम पदक जित्ने मौका हुनेछ”, टाइम्स अफ इन्डिया अखबारका अनुसार आइओएका कार्यकारी परिषद्का सदस्य रोहित राजपालले भने ।

यसमा कबड्डी र खो खो जस्ता ट्याग–टाइप खेलहरू समावेश हुनेछन्, जसलाई भारतले ओलम्पिकमा समावेश गर्न दबाब दिइरहेको छ ।

आफ्नो एक अर्ब ४० करोड जनसङ्ख्या भए पनि ओलम्पिकमा भारतको रेकर्ड यसको आकारको देशका लागि कमजोर छ । ओलम्पिकको इतिहासमा भारतले केवल १० स्वर्ण पदक जितेको छ । रासस