काठमाडौं, २९ साउन । मुगुम समाजका अध्यक्ष ज्याम्वल लामा र दी हिमालयन पिसका पूर्व अध्यक्ष भुमग्याप लामाले सामाजिक सञ्जालमा मुगुम आदिवासी जनजातिको सन्दर्भमा भ्रम छर्ने काम भएको भन्दै खण्डण गरेका छन् । खगेन्द्र गिरी कोपिलाले ‘मुगुम आदिवासी जनजाति’ लाई ‘यिनका पुर्खाहरू तिब्बतमा चिनियाँ लाल सेनाले कब्जा गरेपछि भागेर नेपाल पसेका आप्रवासी हुन्’ भनी सामाजिक सञ्जालमा लेखेका थिए । उनीहरुले उक्त अभिव्यक्ति कर्णालीको इतिहास नबुझेको र आफ्नो तत्कालको निहित स्वार्थ पूरा गर्ने उद्देश्य प्रेरित आलोकाचो अभिव्यक्ति रहेको बताएका छन् ।
‘मुगुम’ जातिको नामबाट मुगु र ‘डोल्पो’ सम्प्रदायको नामबाट डोल्पा नामाकरण सर्वस्वीकार्य हुनुले पनि जाति, भाषा र धर्मबीचमा रहेको आपसी मेल र सौहार्दतालाई पुष्टि गर्ने उनीहरुको भनाइ छ । ‘केही दिन यता कर्णालीको इतिहास नबुझेका वा आफ्नो तत्कालीन निहित स्वार्थ पुरा गर्ने उद्देश्यले विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा मा खलल पार्ने कार्य वा अभिव्यक्तिहरू घोर आपत्तिजनक एवं निन्दनीय छन्,’ उनीहरुले भनेका छन् ।
कर्णालीको गौरवपूर्ण इतिहासको जगमा उभिएर आपसी एकता र सदभावको झण्डालाई माथि उठाउँदै यस्ता कार्यहरूको आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न पनि उनीहरुले अपिल गरेका छन् ।




प्रतिक्रिया