कांग्रेस-एमाले गठबन्धन सरकारले जति गर्नुपर्ने हो, त्यति गर्न सकेनः मीन विश्वकर्मा


काठमाडौं, ३० साउन । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले जति गर्नुपर्ने पर्ने हो, त्यति गर्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको केन्द्रीय समिति बैठकले नै यो सरकारले गर्नुपर्ने काम गर्न सकेन भनेर निष्कर्ष निकालेको बताएका हुन् । तर, जे गर्नुपर्ने हो, त्यतातर्फ भने सरकार निरन्तर अगाडि बढिरहेको उनको भनाइ छ ।

‘यसले जति गर्नुपर्ने त्यति गर्न सकेन भन्ने कुरा कांग्रेसकै केन्द्रीय समिति बैठकबाट निर्णय गरेका छौं । म आफैंले पनि सबै कुरा सम्पन्न भयो भन्न सक्दिनँ । जति गर्नुपर्ने थियो, त्यति गर्न नसकेको हो । जे गर्नुपर्ने, त्यतातर्फ पार्टी र सरकार निरन्तर लागिराखेको छ,’– उनले भने ।

साथै, उनले अहिले एमाले नेतृत्वको सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहेको पनि उनले बताए । प्रधानमन्त्रीले गत बुधबार संसद्को रोस्ट्रममा उभिएर बोलेका अधिकांश कुराहरुमा कांग्रेसको समर्थन रहेको उनले बताए ।

‘अहिले नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकारलाई हाम्रो पूर्ण साथ सहयोृग छ । सरकारलाई साथ सहयोग गरेपछि कामको पनि जिम्मेवारी लिनुपर्छ । त्यो जिम्मेवारी लिने कुरामा प्रधानमन्त्रीले हिजो रोस्ट्रममा उभिएर व्यक्त गरेका अधिकांश कुराहरुमा हाम्रो सहमति छ,’– उनले भने ।