काठमाडौं, ३० साउन । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक लागेमा मन्त्रिपरिषद्मा फेरबदल हुन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रिपरिषद् फेरबदल गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको रहेको बताए । ‘त्यो प्रधानमन्त्रीको आफ्नो अधिकार हो । मन्त्रीले काम गर्न सकेनन् भने नयाँ मन्त्री ल्याएर काम गर्ने र सरकारलाई रिजल्टमुखी बनाउने काम प्रधानमन्त्री हो । त्यो प्रधानमन्त्रीको आफ्नो क्षेत्राधिकार हो,’– उनले भने ।
साथै, मन्त्रिपरिषद् फेरबदलमा सत्तारुढ दल नेपाली कांग्रेसले साथ नदिएको खण्डमा त्यसको जिम्मेवारी कांग्रेस स्वयंले लिनुपर्ने उनले बताए । ‘कांग्रेसले अनुमति दिएन । कांग्रेसले मन्त्रीहरुको कार्यसम्पादन क्षमताको बारेमा कांग्रेसले कुनै मूल्याङ्कन गरेन । विवादमा रहेका, परिणाम दिन नसक्ने मन्त्रीहरुको बारेमा कांग्रेस मौन बस्यो भने त त्यसको जिम्मा त कांग्रेसले लिनुपर्यो नि । यो सरकारले एक वर्षे कार्यकाल पूरा गरिसकेपछि प्रत्येक मन्त्रीको कार्यसम्पादन क्षमता के छ, मन्त्रालयमा उसले तोकिएको काम गर्न सक्यो कि सकेन ? परिणाम दियो कि दिएन, परिवर्तनको अनुभूति भयो कि भएन ? जनतामैत्री कार्यक्रम अगाडि लान सक्यो कि सकेन भनेर यसको छलफल र बहस त हुनुपर्यो नि,’– उनले भने ।




प्रतिक्रिया