काठमाडौं, ३० साउन । पूर्व राजदूत एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले नेपाल र भारतबीचमा सम्बन्धको सेतु रहेको बताएका छन् । नेपाल–भारतबीचको सम्बन्धको सेतुलाई उनले इतिहासको गौरवगाथाको रुपमा उल्लेख गरे । उनले यो सम्बन्धलाई नेपाल–भारत दुवै पक्षले बिर्सन नहुने उनको भनाइ छ ।
पूर्व राजदूत उपाध्यायले भारतीय पक्षसँग नेपालले आफ्नो समस्या आँखामा आँखा जुधाएर भन्न सक्नुपर्ने बताए । उनले सीमा समस्या, पानीको समस्या, भारतीय लगानी नेपालमा भित्र्याउने विषयमा नेपालले आफ्नो अडान प्रष्ट रुपमा राख्न सक्नुपर्ने उनले बताए ।
‘आफ्नो समस्याको समाधान र राष्ट्रको हितको लागि चाहिँ त्यही राष्ट्रले नै सोच्ने हो । हाम्रो समस्या हामीले नसोचे कसले सोच्ने ? हाम्रो आजभोलि सीमाको विवादका कुरा, पानीको समस्याका कुरा, आर्थिक प्रगतिमा यहाँ लगानी नभएको बारेमा, भारतीय लगानी आउन छाड्यो । किन भन्ने चिन्ता हामीले गर्नुपर्यो । भारतीय मित्रहरुसँग आँखामा आँखा जुधाएर आफ्नो समस्याहरु भनेर समाधानतर्फ जान नसक्नु हाम्रो कूटनीतिक अपरिपक्वता, कमी मैले देख्छु,’– उनले भने ।
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि पर्याप्त मात्रामा गृहकार्य हुन आवश्यक रहेको बताए । यसअघिका उच्चस्तरीय भेटहरु एजेण्डाबिहीन भएकै कारण परिणाम आउन नसकेको उनको भनाइ छ । भारत चिँढिने हो कि ? भारत रिसाउने हो कि भनेर आफ्नो समस्या भन्नका लागि नेपालले पछि पर्न नहुने उनले बताए ।
‘प्रधानमन्त्रीको भ्रमण अथवा प्रधानमन्त्रीसँगको संवाद भनेको त औपचारिक हो । त्यो भन्दा अगाडि विभिन्न किसिमका गृहकार्यहरु हुनुपर्छ । त्यो गृहकार्य भनेको नेपालले आफ्नो समस्याको बारेमा प्रष्टसँग भनेर वातावरण निर्माण गर्न सक्नुपर्छ । हामीमा त्यसको कमी छ, हामी त्यो भन्दै भन्दैनौं । भारत चिँढिने हो कि ? रिसाउने हो कि ? भनेर त्यो कुरा भन्दैनौं । एजेण्डामै आउँदैन । तयारी नै छैन त के हुनु ? सौहार्दपूर्ण भेटघाट हुन्छ, फोटो खिचिन्छ । वक्तव्य पनि मिठै आउँछ । तर परिणाममा त केही पनि आउँदैन । त्यसबाट बच्ने हो भने अहिलेदेखि भ्रमणभन्दा अगाडिका गृहकार्यहरु जरुरी छ,’– उनले भने ।




प्रतिक्रिया