प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण : उडेर जाने कि गुडेर आइतबार तय हुने


काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओली १४ महिनापछि पहिलोपटक भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली अमेरिका, चीन, युरोपलगायतका देशको भ्रमणमा गैसकेपछि बल्ल भारत भ्रमणको संयोग जुरेको छ । कतिपयले प्रधानमन्त्री ओलीलाई भ्रमणमा बोलाउनको लागि भारतले अनिच्छा राखेको बताईन्थ्यो ।

तर, १४ महिनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको छ । आगामी भदौ ३१ गते भारत जानेगरि तयारी थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन् । आगामी सेप्टेम्बर १६ (भदौ ३१) गते उनी भारत जाने मिति तय भएको छ । सेप्टेम्बर १७ मा भने भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन हो । मोदीको जन्मदिनका दिनमा नै दुई प्रधानमन्त्रीबीच विेशेष भेटवार्ता हुने भएको छ ।

प्रधानन्त्री मोदीले आफ्नो नेपाली समकक्षी ओलीलाई भारतको बिहारमा रहेको बोधगयामा भेटवार्ता गर्ने भनिएको छ । यद्धपी भेटवार्ता कहाँ हुने भन्ने कुरा भारतीय विदेशसचिव विक्रम मिश्रीको आइतबारको नेपाल भ्रमणले तय गर्नेछन् । यसअघि नेपाली कुटनीतिज्ञहरुले पनि प्रधानमन्त्री ओलीलाई बिहार, युपी हुँदै नयाँ दिल्ली जान सुझाव दिएका थिए ।

उनीहरुले स्थलमार्ग हुँदै भारत जान र भारतको विकास हेर्न प्रधानमन्त्री ओलीलाई सझुाव दिएका थिए । बोधगयामा नै महत्वपूर्ण भेटवार्ता हुने हो भने ओलीलाई भारतले स्थलमार्गबाट नै बोलाउनसक्ने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको भनाई छ । file photo