भादगाउँ (भक्तपुर), ३० साउन । मध्यपुरथिमिमा गत सोमबार रातिदेखि सञ्चालनमा आएको ऐतिहासिक नीलबाराही देवगणको बोदे द्यो प्याखँ, नगदेशको तान्त्रिक भैलः प्याखँ, थिमिको लाय्कु भैलः प्याखँ, पोवुको सलँचा प्याखँ गएराति सम्पन्न भएको छ ।
मध्यपुरथिमिमा गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) रातिदेखि निलबाराही गणनाच, भैलः (भैरव), महाकाली, अष्टमातृका, सलँचा, नागँचा प्याखँलगायतका प्याखँ प्रदर्शन गर्ने परम्परा रहेको छ ।
सो परम्पराअनुसार यस वर्ष बोदेको नीलबाराही द्यो प्याखँ, नगदेशमा तान्त्रिक भैलः प्याखँ, थिमिमा लाय्कु भैलः प्याखँ, मध्यपुर थिमि वडा नं ५ को पोबुबाट सलँचा प्याखँ र विभिन्न टोलबाट नागँचा प्याखँ प्रदर्शन गरिएको थियो ।
त्यसमध्ये बोदेको नीलबाराही देवगणको बोदे द्यो प्याखँ सबैभन्दा कठिन र नियमित प्रदर्शन भइरहेको प्याखँ हो । मध्यपुरथिमि वडा नंं ८ र ९ बोदेमा चार रात सञ्चालन हुने यो प्याखँ बोदेको नारायणथान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाः महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा प्रदर्शन गरेर समापन गरिएको हो ।
प्याखँमा धाँ बाजा, भुस्या, काँय, पोंगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने गुठीका नाइके एवं देवगण नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताए । निलबाराही नाचको देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ । देवगणका जोकल (सहयोगी) र वाद्यवाधक गरी १०० जनाभन्दा बढी व्यक्ति यो प्याखँमा क्रियाशील भएका थिए ।
प्याखँ प्रदर्शनका क्रममा हजारौँ श्रद्धालुले देवीदेवतालाई आ–आफ्नो गच्छेअनुसार नगद, लत्ताकपडा, फलफूल, मिठाइलगायतका वस्तु चढाएका थिए । बोदे द्यो प्याखँको परम्पराअनुसार देवी देवतालाई चढाएको नगदभेटी सबै गुठीमा जम्मा गर्ने र प्याखँ प्रदर्शनका क्रममा हुने खर्च, क्षमा पूजालगायतको खर्च कटाएर बाँकी रहेको रकम देवगण, वाद्यबाधक सबैलाई दामासाहीले बाँडफाँट गरिन्छ ।
यसैगरी, मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि तान्त्रिक भैलः प्याखँ प्रदर्शन गरिएको थियो । विविध कारणले रोकिएको यो प्याखँ नगदेशको पुखुःसीबाट निकालिएको थियो । पुखुःसीबाट नगदेशको सिद्धिगणेश परिसरमा सिद्धिगणेशको साधना गरी नगदेशका विभिन्न टोलमा यो प्याखँ प्रदर्शन गरिन्छ ।
यस्तै, मध्यपुरथिमिको वडा नं ४ लाय्कु (दरबार)बाट यस वर्ष लाय्कु भैलः प्रदर्शन गरिएको थियो । लाय्कुबाट बालकुमारी मन्दिर परिसर पुगी बालकुमारीको साधना गरेपछि लाय्कु भैलः थिमि, चपाचोकका विभिन्न टोलमा प्याखँ प्रदर्शन गरिएको प्याखँका गुरु अर्जुन श्रेष्ठले जानकारी दिए ।
मध्यपुरथिमिमा यस वर्ष करिब सात वर्षपछि पोवुबाट सलँचा प्याखँ प्रदर्शन गरिएको थियो । यसमा महाभारतकालीन कथा जोडिएको छ । पाण्डवहरु जुवामा सबथोक हारेर १४ वर्षको वनबास र एक वर्षको गुप्तवासपछि घोडामा घर फर्किएको प्रसङ्ग सो प्याखँमा रहेको गुरु कान्छा भासिमाले जानकारी दिए ।
युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव क्रमशः कालो, रातो, हरियो, पहेंलो र सेतो जामामा हुन्छन् । श्रीपेच र हातमा धनुषवाणसहित सो नाच कृत्रिम घोडामा चढेर नाचिन्छ । यसमा गीत गाउने, बाजा बजाउने र बत्ती बाल्नेसहित ४० देखि ५० जनाको सहभागिता हुन्छ ।
यसैगरी, गाईजात्राको दिनदेखि प्रदर्शनमा आएका नागँचा प्याखँ पनि सम्पन्न भएको छ । नागँचा प्याखँ भष्मासुर राक्षसको भष्मसँग जोडिएको प्याखँ हो । महादेवको वरदानले भष्मासुर बनेका राक्षसले महादेवलाई नै भष्म गर्न खोजेपछि विष्णुले मोहिनी रुप धारण गरी भष्मासुरलाई आफ्नो रुपमा जालमा पारेर आफैँलाई भष्म गरेको कथा यो प्याखँमा देखाइन्छ । यो प्याखँ गाईजात्रासँगै विभिन्न टोलमा रहेको दाफा भजन खलःहरुले निकाल्ने गरिन्छ । रासस




प्रतिक्रिया