नेपालका प्रधानमन्त्रीहरूको विदेश भ्रमणहरु कष्टमरीजस्तो भैराखेका छन्, प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा सन्धि-सम्झौताका प्रगति लिएर जानुपर्छ : डा. सुरेन्द्र झा


काठमाडौं, ३० साउन । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले नेपाल स्टा«टेजिक–ल्याण्डमा रहेको कारण विश्वका शक्ति राष्ट्रहरु नेपालप्रति आकर्षित रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज (शुक्रबार) भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘भारत त विश्वको सबभन्दा ठूलो लोकतन्त्र हो । म ७९औं स्वतन्त्र दिवसको अवसरमा सम्पूर्ण भारतीय जनता र यशश्वी प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई हार्दिक शुभकामना दिन चाहन्छु ।’ झाले नेपाल र भारतबीच अलौकिक सम्बन्ध, खुला सिमाना र सम्बन्धको ५ हजार वर्षभन्दा पूरानो इतिहास रहेको स्मरण गराए । उनले भने,‘हाम्रो सम्बन्धमा रामायणकालिन इतिहास छ । दुई देशबीच जनस्तरको सम्बन्ध । भाषा, संस्कृति र धर्म सबै मिल्ने भएकोले यो सम्बन्ध ऐतिहासिक छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले अब आफ्नो देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आफ्ना कुटनीतिक कदम चाल्नुपर्ने सुझाव दिए । उनले अहिले साउथ इष्ट एशिया नै विश्वको केन्द्रमा रहेको बताए । उनले भने,‘आधुनिक सम्बन्धको चर्चा गर्दा र अहिले विश्व भूराजनीति हेर्नुभयो भने साउथ इष्ट एशिया केन्द्रित भएको छ । संसारका जति शक्तिशाली चार व्यक्तिहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुनुहुन्छ । यी चार जनाले जतातिर विश्व धकेल्न चाहन्छन्, विश्व त्यतै धकेलिने सम्भावना छ ।’

उनले विश्व–भूराजनीतिको मात्रै नभएर विश्व अर्थतन्त्रको आकर्षणको क्षेत्रपनि साउथ इष्ट एशिया नै रहेको दाबी गरे । उनले भने,‘हाम्रा छिमेकहरु भारत र चीन विश्वकै शक्तिशाली अर्थतन्त्र बनेका छन् । चीन दोस्रोमा आइसकेको छ । भारत चौथोमा छ । विश्वाको सबैभन्दा लार्जेष्ट म्यानुफ्याक्चरिङ हब चीन हो । दोस्रो हब भारत हो । जनसंख्याको हिसाबले पनि यी देश अगाडि छन् । भारत र चीनमा फरक फरक राजनीतिक व्यवस्था र प्रणाली छ । चीनमा एकदलीय कम्युनिष्ट शासन छ, उता भारतमा लोकतान्त्रिक शासन छ । विश्वको सबभन्दा ठूलो पार्टी भाजपा । त्यो दलको नेता मोदी प्रधानमन्त्री हुनुहुन्छ ।’

उनले विगतकालमा नेपाललाई भारत र चीन दुई देशको तरूल भन्ने गरेकोमा आफूले अहिले ‘दुई देशहरुको शीरको सिउँदो’ को रुपमा लिएको चित्रण गरे । उनले भने,‘नेपाल दुई ढुंगाबीचको तरुल होईन । दुई शक्तिशाली र समृद्ध राष्ट्रहरुबीचको शीरको सिउँदोको रूपमा नेपाल हुनसक्छ । नेपाल स्ट्राटेजिक ल्याण्डमा अवस्थित भएकोले शक्ति राष्ट्रहरु नेपाल र नेपालीप्रति आकर्षित छन् । उनीहरु हाम्रा गतिविधिहरु नियाँलिरहेका बसेका छन् । विश्वले नेपाल र नेपालीहरुलाई माया गरेका छन् ।’

डा. झाले नेपाल किन अहिलेसम्म आत्मनिर्भर भएन भनेर प्रश्न उठाए । उनले भने,‘हामी आत्मनिर्भर हुन सकेनौं ? भारत आज आणविक शक्ति भैसक्यो । तेस्रो अर्थतन्त्र दाबी गर्दैछ, विश्वले चौथो मानिरहेको छ । हामीले पनि अब समिक्षा गर्नुपर्छ । नेपालको राजनीतिक आन्दोलनमा भारतको जहिल्यैपनि साथ रहेको छ । उसले हाम्रो अपेक्षाअनुसार सहयोग गर्दै आएको छ । भारत, चीन र जापाले अनकण्डिस्नल सहयोग गर्दै आएका छन् । तर, हाम्रो देशमा १९९० देखि आजसम्म राजनीतिक स्थायित्व भएन । प्रत्येक वर्षजस्तो सरकार परिवर्तन हुने अवस्था छ । शक्ति राष्ट्रले लगानी गर्न खोज्दा त्यो देशको राजनीतिक स्थायित्व र नेतृत्वको स्थायित्व खोज्छ ।’

उनले नेपाल र नेपालका राजनीतिक दलहरुले अब साझा र एकल पराष्ट्र नीति अपनाउनुपर्ने सुझाव दिए । उनले परराष्ट्र नीतिमा सबै दलको साझा धारणा हुन सकेभन्दा देशको लागि लाभदायी हुने तर्क गरे । उनले भने,‘हाम्रा प्राथमिकतामा परेका परियोजना कसैले पनि तलमाथि गर्न नपाउने बनाउनुपर्छ । अन्य देशको विरुद्धमा हाम्रो भूमि प्रयोग हुन नदिने, आन्तरिक मामिलामा नबोल्ने, असंलग्न परराष्ट्र नीति महत्वपूर्ण छ । कसको पक्षमा उभिँदा सकारात्मक हुन्छ भन्ने कुरा पनि अब हेरिनुपर्छ । हामी प्राकृतिक रूपमा भारतसँग नजिक छौं । विश्वलाई शीर मान्ने हो भने नेपाल विश्वमै नाइटोको रूपमा रहेको छ । त्यैले तपाईंहरु स्वस्थ रहने हो भने नेपाललाई पनि स्वस्थ राख्नुहोस भन्ने गरेको छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण कष्टमरीजस्तो हुन नहुने झाको सुझाव छ । अहिलेसम्म नेपालका प्रधानमन्त्रीहरुको विदेश भ्रमणहरु कष्टमरीजस्तो भैराखेको उनको गुनासो छ ।उनले भने,‘अब हाम्रो प्रधानमन्त्रीज्यूको भारत भ्रमण हुँदैछ । अहिलेसम्म हाम्रो भ्रमणहरु कष्टमरीजस्तो भैराखेको छ । भ्रमणको तयारी हुँदैन । यो दुर्भाग्य हो । देशको प्राथमिकता र परियोजनाका प्राथमिकीकरणको एजेण्डा हुँदैन । हाम्रा भ्रमणहरू खाने, खुवाउने र हात मिलाउनेमा सिमित भएका छन् । कतिपय सम्झौता भएका छन्, ती अहिले कार्यान्वयन शून्य अवस्थामा छन् । भएका सम्झौताहरू धेरै दयनीय अवस्थामा छन् । सम्झौता कार्यान्वयनको सवलामा हामीले हाम्रो संस्थालाई बलियो बनाउनुपर्छ । अब हुने प्रधानमन्त्रीको भारत भ्रमणबाट पनि म धेरै उत्साही हुनुेपर्ने स्थिति देख्दिनँ ।’

उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थकेन्द्रित कुटनीतिक कदम चाल्नुपर्ने सुझाव दिए । उनले भने,‘देशको स्वार्थअनुसार खासगरी आर्ट अफ पर्सुयटअनुसार सहयोग गर्नुहोस भन्नुपर्छ । अब नेपालले जनसांख्यिक लाभ लिन सक्नुपर्छ । २० वर्षपछि नेपाल बुढो नेपालमा रूपान्तरण हुन्छ । आन्तरिक रोजगारी सिर्जना छैन । देशमा रोजगारी खुम्चिएको छ । हाम्रो शिक्षा, उच्च शिक्षामा ठूलो चूनौति छ । स्वास्थ्य क्षेत्रमा जनसंख्याअनुसार लगानी गर्न सकेका छैनौं । डिफेन्स सेक्टरमा जनसंख्या छ, तर उत्पादनमा लगाउन सकिएन । यी सबै पक्षमा गम्भीर हुनुपर्छ ।’

डा. झाले नेपालले भारतसँग हातेमालो गर्नुपर्ने सुझाव दिए । उनले भने,‘भारत हामीलाई सहयोग गर्न तयार छ । हामीले चीनसँग पनि हातेमालो गर्नुपर्छ । पारदर्शी ढंगले नेपाल र नेपालीको हितमा हुने सहयोग लिन तयार हुनुपर्छ । हाम्रो राष्ट्रियता, सर्वाभौमिकताको सवालमा असर पर्ने कुनै सन्धि, सम्झौता गर्नुहुँदैन । अहिलेको नेपालको कुरा गर्दा हामी विगतभन्दा शक्तिशाली र गौरवशाली भएका छौं । देशलाई अझै परिस्कृत गर्नुपर्छ । यो अहिलेको पुस्ताको पनि चूनौतिको कुरा हो ।’

प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससिओ) को समिटमा भाग लिनको लागि चीन जान लागेको विषयमा उनले केही प्रश्न उठाए । उनले सुरूमा यो समिटमा सहभागिताको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा आएको भएपनि विशेष अध्ययनपछि राष्ट्रपति कार्यालयले भ्रमण नगर्ने भनेको स्मरण गराए । उनले भने,‘हाम्रो प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । उहाँले एक्कासी चाईना जाने निर्णय लिनुभएको छ । त्यो निमन्त्रणा पहिला हाम्रो राष्ट्रपतिजीलाई गएको थियो । राष्ट्रपतिको कार्यालयले एउटा अध्ययन गरेर त्यहाँ जापानिज सेनालाई परास्त गरेको भनेर सेलिव्रेशन हुने भएकोले, खासगरी जापान नेपालको दातृ निकाय हो ।बिनाशर्त सहयोग गरिरहेको छ, माया गरिरहेको छ ।यस्तो कार्यक्रममा म जान्नँ भनेर राष्ट्रपति कार्यालयले अस्विकार गरेको हो । त्यो भ्रमणमा प्रधानमन्त्री जाँदै हुनुहुन्छ । प्रधानमन्त्री कार्यकारी प्रमुख हो । राष्ट्रपति कार्यालयबाट नजाने भनेर भनेको भन्ने कुरा आएको छ । प्रधानमन्त्रीले चाहीँ किन म आउँछु भन्नुभयो ? यो कुटनीतिक ल्याप्सेस हो । स्वतन्त्र विज्ञहरुसँग सल्लाह गर्नुपर्छ । हाम्रो प्रधानमन्त्री कहाँ जाने, कहाँ नजाने भनेर सबै दलसँग सल्लाह गर्नुपर्छ ।’

अब भ्रमणमा जाने भएपछि हाम्रो तयारी राम्रो हुनुपर्नेमा उनको जोड छ । उनले थपे,‘हाम्रो व्युरोक्रेटिक तयारी के हो ? चीनसँगको प्रगति विवरण लिएर जानुपर्छ । भारतसँगको सन्धि, सम्झौताको प्रगति विवरण लिएर र स्वार्थको द्धन्द्धमा हाम्रो पोजिसन के हो भनेर प्रष्ट राख्नुपर्छ । नेपालले मित्रराष्ट्रसँग खुट्टा कमाउनुपर्ने अवस्था देख्दिनँ । मुलुकलाई समृद्धितर्फ लैजाने कुरामा भूमिका हुनुपर्छ ।’