हामी भारतसँग रोटी-बेटीको सम्बन्धमात्रै होइन, आर्थिक सम्बन्ध पनि विकास गर्न चाहन्छौंः कांग्रेस नेता महर


काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीच बहुआयमिक सम्बन्ध रहेको बताएका छन् । भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म नेपाललाई भारतको सहयोग र भारतलाई नेपालको सहयोग निरन्तर रहिरहेको बताए ।

‘७९ औं भारतको स्वतन्त्रता दिवसको हार्दिक शुभकामना दिँदै दुई देशको बीचको मित्रवत सम्बन्ध फेरि पनि प्रगाढ बन्नेछ । हाम्रो बहुआयमिक सम्बन्ध, हाम्रो आर्थिक, सांस्कृतिक सबै रुपले नेपाल र भारत जोडिएर बसेका छन् । भारतको नेपाललाई सहयोग छ । नेपालको भारतलाई सहयोग छ,’– उनले भने, ‘हामी महाभारत, रामायण कालदेखि लिएर आजसम्म भारत र नेपालको बीचमा अन्योन्याश्रित सम्बन्ध छ, सांस्कृतिक सम्बन्ध छ, छिमेकीको सम्बन्ध छ । मर्दा र पर्दाको सम्बन्ध पनि छ ।’

भारत विश्वको तेस्रो लार्जेस्ट इकोनोमीमा फड्को मार्दै गर्दाखेरी नेपालले भारतसँग थप अपेक्षा गरेको उनले बताए । नेपालले भारतसँग आर्थिक सम्बन्ध कायम गर्न चाहेको र हिजोको रोटी–बेटीको सम्बन्ध आजको दिनसम्म आइपुग्दा केही फेरिएको उनले बताए ।

‘हामी आर्थिक रुपमा सम्बन्ध विस्तार गर्न चाहन्छौं । नेपालका सीप युक्त युवाहरुलाई भारतको बजारमा स्थापित हुने मौका भारतले दिनुपर्छ,’– उनले भने ।

नेपाल भौगोलिक रुपमा सानो भए पनि सार्वभौमसत्ता र अखण्डताप्रति आफूहरु दृढ संकल्पित रहेको पनि उनले बताए । नेपालको राष्ट्रिय अखण्डतालाई थप मजबुद हुनेगरी काम गरिनुपर्ने उनले बताए ।

साथै, फरक प्रसंगमा उनले कांग्रेस–एमालेको सरकार बन्दा भएको सात बुँदे सहमतिअनुसार काम हुन नसकेको बताए । उनले सरकार बन्दाका सहमतिहरु पूरा गर्न द्रुत गतिमा अगाडि बढ्नुपर्ने बताए ।

‘सात बुँदे सहमतिमा सरकार निर्माण हुँदै गर्दाखेरी भएको सम्झौताहरु कार्यान्वयन भएका छैनन् । यो सत्य कुरा हो । यसमा सरकार द्रुत गतिमा लाग्नुपर्छ भनेर हामीले निर्णय गरेका छौं । सरकारको प्रभावकारिता चाहिएको छ । सरकार निष्पक्ष तवरले अगाडि बढ्नुपर्छ । सरकारले जनता केन्द्रीत काम गर्नुपर्छ भन्ने कुरामा हामी लागेका छौं,’– उनले भने ।

भ्रष्टाचारलगायतका मुद्दाहरुमा सरकारले जनतामा आशा जाग्नेगरी काम गर्छौं भनेर गरेको सम्झौता पूरा गर्नुपर्ने उनले बताए । त्यो पूरा हुन नसकिराखेको र प्रधानमन्त्री केपी शर्मा ओली यसमा चनाखो हुनुपर्ने उनले बताए ।