काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आवश्यकताको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले काम गर्न नसकेका मन्त्रीहरु फेर्नुपर्ने बताएका हुन् । ‘जहाँ काम भएको छैन भन्ने लाग्छ, त्यहाँ गर्नुपर्छ । काम गरिराखेकोलाई चाहिँ अब फेर्नको लागि फेर्ने भन्दा पनि ठीक ढंगबाट काम भइराखेको छैन भने फेर्न पर्छ,’– उनले भने ।
साथै, उनले सरकारको समग्र कामबाट सन्तुष्ट हुने अवस्था नरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै तहबाट सुधारको आवश्यकता रहेको बताए । प्रधानमन्त्री ओलीले आफूलाई ठीक ढंगबाट प्रस्तुत गर्न नसकेको उनले बताए ।
उनले भने, ‘समग्र रुपमा सन्तुष्ट हुने त कुरै आउँदैन । हाम्रो देशमा यतिधेरै काम गर्नुपर्ने छ । त्यो अनुसार काम हुँदैन । काम नभएपछि सन्तुष्टि हुने कुरा पनि आउँदैन । प्रधानमन्त्रीको तहबाट पनि धेरै कुरा सुधारको आवश्यकता छ । त्यसमा उहाँले आफूलाई ठीक ढंगबाट प्रस्तुत गर्नुपर्छ । सम्पूर्ण कुरा प्रधानमन्त्रीबाट सन्तुष्ट हुने भन्ने कुरा आउँदैन । प्रधानमन्त्रीको तहबाट पनि धेरै सुधारको आवश्यकता छ । अन्य जिम्मेवारीमा बसेका मन्त्री हुनुहुन्छ, अरु जिम्मेवारीमा हुनुहुन्छ, त्यो तहमा पनि सुधारको आवश्यकता छ । सबैभन्दा धेरै प्रधानमन्त्रीको तहमा पनि सुधार गर्नुपर्ने प्रशस्त ठाउँछ ।’
साथै, अहिले कांग्रेस–एमाले सत्ता समीकरणमा फेरबदल नआउने उनले बताए । सरकार परिवर्तनमात्रै समाधान नभएको उनको भनाइ छ । सरकार कहाँ–कहाँ चुक्यो र कहाँ–कहाँ कमीकमजोरी भयो भनेर समीक्षा गरिनुपर्ने उनले बताए । त्यस्ताखालका कमजोरीहरु नदोहोर्याउने गरी सरकार गम्भीरताको साथ लाग्नुपर्ने उनले बताए ।
‘अहिले सरकार ढल्ने कुरा भन्दा पनि सरकारको पर्फर्मेन्स बढाउने कुरा महत्वपूर्ण कुरा हो । सरकारको प्रभावकारिता बढ्नुपर्यो । सेवा भ्रष्टाचारमुक्त, दुरुपयोगमुक्त र ढिलासुस्तीमुक्त हुनुपर्छ । स्थानीय, प्रदेशदेखि केन्द्रसम्मको सरकारले जथाभावी लगानी गर्ने प्रवृत्ति छ । यसको अन्त्य गर्नुपर्छ,’– उनले भने ।
साथै, उनले रासायनिक मलमा दिइँदै आएको अनुदान सही सदुपयोग नभइरहेको बताए । उनले कृषकको कार्डको आधारमा उनीहरुको खातामा अनुदान जम्मा गरिदिने प्रणालीको विकास गरिनुपर्ने बताए । सरकारले खर्च गरेर पनि जस नपाएको, किसानहरुले अनुदानको उपभोग गर्न नपाएको बताउँदै उनले यो प्रणालीको अन्त्य गरिनुपर्ने बताए ।
‘मलको आपूर्तिमा धेरै ठूलो पैसा सरकारले खर्च गरिराखेको छ । तर, त्यो अनुदान ठीक ढंगबाट सदुपयोग भइराखेको छैन । जनताले अनुदानविना व्ल्याक मार्केटमा मल किन्न परिराखेको छ । त्यो अनुदानको दुरुपयोग भएको हुनसक्छ । यो नीतिगत रुपमै सुधार ल्याउनुपर्छ । मल आपूर्तिमा ठूलोमात्रामा अनुदान दिन्छौं । तर, अनुदानको सदुपयोग हुँदैन,’– उनले भने ।




प्रतिक्रिया