नेपाली समाज नै भ्रष्ट समाज हो, यहाँ भ्रष्टाचार नगरी जीविकोपार्जन हुँदैनः प्रा.डा.केसी


काठमाडौं, ३१ साउन । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले भ्रष्टाचार नगरी नेपाली समाजलाई जीविकोपार्जन गर्न नपुग्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खरिदार, पियनलगायतका कर्मचारीलाई भ्रष्टाचार नगरी जीवन यापन गर्नका लागि मुस्किल रहेको बताएका हुन् ।

‘नेपाली समाज भ्रष्ट हो । भ्रष्टाचार नगरी यहाँ कसैको पनि जीविकोपार्जन हुन्छ भन्ने मलाई लाग्दैन । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै तलब खाने प्रोफेसर मै हुँ । त्यसको तलब हुन्छ ५५ हजार । सञ्चयकोष इत्यादि काटिँदाखेरी ४७ हजार बाँकी रहन्छ । यहाँ खरिदार, पियनले जीवन यापन गर्नुपर्ने छ । राजनीतिमा जाँदा नेताहरुले कार्यकर्ता पाल्नुपरेको छ । अनि भ्रष्टाचार नगरी कसरी चल्छ त हाम्रो देशमा ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले राष्ट्रिय सभा भङ्ग गरिनुपर्ने र प्रतिनिधिसभाको संख्या घटाइनुपर्ने बताए । त्यसपछि प्रादेशिक संरचनालाई स्थगन गराएर स्थानीय संरचनालाई शक्तिशाली बनाइनुपर्ने उनले बताए । उनले संघीय व्यवस्था दलका कार्यकर्ता र आसेपासेहरुलाई भरण पोषण गर्नका लागि ल्याइएको रहेछ भन्ने कुरा प्रष्ट भएको बताए ।

त्यस्तै, श्रीकृष्ण जन्मअष्टमीको सन्दर्भमा उनले देशमा धर्मनिरपेक्षता सुरु भएदेखि धर्मप्रतिको आकर्षण बढिरहेको बताए । ‘हामी धर्मनिरपेक्षतामा गएका वर्षहरु जति–जति व्यतित गर्दैछौं, मान्छेको धर्मप्रतिको आकर्षण त्यति नै बढेर गएको देख्छु । एकतिर धर्मनिरपेक्षताको कुरा छ, धर्मबाट टाढा भनिएको छ । अर्कातिर मान्छेको धर्मप्रतिको आशक्ति चाहिँ बढेर गइराखेको छ । धर्म एउटा जीवन्त पक्ष हो । यसबाट टाढा मान्छे जान सक्दैन भन्ने कुराको निष्कर्ष निकाल्न सकिन्छ,’– उनले भने ।