काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका युवा नेता तथा मधेश प्रदेश सरकारको ‘घुमौं मधेश, बुझौं मधेश’ का संयोजक विकास कुमार ठाकुरले मधेश प्रदेश कांग्रेसका सभापति कृष्णा यादव र पार्टीका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवा र सिंगो पार्टीलाई बदनाम गराएको भन्दै नेताद्धय यादवलाई निलम्बन गर्न माग गरेका छन् ।
थमन बिक हत्याका अभियुक्त देवेन्द्र यादवलाई कांग्रेसमा प्रवेश गराउन भूमिका खेलेको भन्दै ठाकुरले यादवद्धयलाई निलम्बन गरिनुपर्ने बताएका छन् । हिजोमात्रै भारत भ्रमणबाट नेपाल फर्किएका ठाकुरले सामाजिक सञ्जाल एक्समा आज (शनिबार) आफ्नो धारणा राख्दै यस्तो माग गरेका हुन् । उनले कृष्णा यादव र महेन्द्र यादवले नेपाली कांग्रेसको साख गिराउने काम गरेको भन्दै यसलाई अक्षम्य अपराधको संज्ञा दिएका छन् ।
उनले लेखेका छन्–‘नेता यादवद्धयले आफ्नो क्षणिक फाईदा मुख्यमन्त्रीको कुर्सीको लागि पार्टी सभापति शेरबहादुर देउवालगायतका पदाधिकारीलाई समेत बदनाम गराए । देवेन्द्र यादवको पार्टी प्रवेशको लागि न कुनै पूर्वतयारी गरियो, न त छलफल नै । सिधै सभापतिको चेम्बरमा लगेर सदस्यता दिएको फोटो सार्वजनिक गरेको देखिएको छ ।’
उनले यो गल्तीको लागि नेताद्धय यादवले नैतिक जिम्मेवारी लिएर पार्टीका नेता तथा कार्यकर्ताहरूसँग र सम्पूर्ण नेपाली जनतासँग माफी माग्नुपर्ने माग गरेका छन् । उनले पार्टीले यी दुवै नेतालाई तत्काल स्पष्टीकरणसमेत सोध्नुपर्ने माग गरे ।
उनले थप भनेका छन्,‘चित्तबुझ्दो जवाफ नआएमा कृष्णा यादव र महेन्द्र यादवसहित यस अपराधमा संलग्न सबै नेताहरुलाई कारबाही गरी निलम्बन गरिनुपर्छ । यो अपराधलाई त्यसै माफी दिईयो भने आउने चुनावमा कांग्रेसलाई जनताले माफी दिने छैनन् । नेतृत्वले यो कुरा चाँडै बुझ्दा राम्रो होला ।’




प्रतिक्रिया