नेता तथा कार्यकर्तालाई अनुशासन आयोगका अध्यक्ष बडालको चेतावनीः कि त अपराध त्याग्नुस्, होइन भने एमाले छोड्नुस्


काठमाडौं, १ भदौ । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले राष्ट्र, जनता, लोकतन्त्र, संविधान र ऐन कानुनविपरीतका क्रियाकलाप नगर्न नेता तथा कार्यकर्तालाई सचेत गराएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अपराध गर्ने भए एमाले छाड्न चेतावनी दिएका हुन् । एमालेभित्र बसेर अपराध कर्म गर्न नपाइने उनले बताए ।

‘एमालेले जालझेल जिन्दगीमा गर्दैन । गर्नु पनि हुँदैन । कहीँ कतै एमालेको नाम गरेका मान्छेले गल्ती गरेको छ भने त्यो कि त एमाले छोड्नुस्, कि त अपराध गर्न त्याग्नुस् । केन्द्रीय अनुशासन आयोगको अध्यक्षको हैसियतले एमालेका कोही मान्छेले पनि राष्ट्र, जनता, लोकतन्त्र, संविधान, ऐन, कानुनविपरीतका क्रियाकलाप नगर्न नगराउनका निम्ति म सबैलाई अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

साथै, नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारमा अपराध गर्ने कसैले पनि छुट नपाउने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा कसैलाई आरोप लगाएर लेख्नेबित्तिकै पनि अपराधी करार गरिहाल्न नहुने बताए । भूमिमन्त्री बलराम अधिकारीको विषय लक्षित गर्दै उनले भने, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारमा अपराध गर्ने कोही छुट्दैन । अपराध नगर्नेहरुलाई कसैले सामाजिक सञ्जालमा लेख्नेबित्तिकै त्यही सत्य हुँदैन । प्रमाणित भयो भने कोही पनि बच्दैन ।’

साथै, भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न बल पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भारत र नेपालबीच एकअर्काको कारणले कुनै पनि देशको अहीत हुन नहुने बताए ।

‘हाम्रो १८८० किलो मिटर सिमाना जोडिएको भारत हो । मित्र राष्ट्र हो । भारत, चीनलगायतका सबै देशसँग हाम्रो मित्रता छ । भारतसँग १८८० किलो मिटर सिमाना जोडिएको हुनाले उहाँहरुसँग हार्दिक, विनम्र, व्यवस्थित, हाम्रो कारणले भारतको अहीत पनि हुन हुँदैन । भारतको कारणले नेपालको अहीत पनि हुन हुँदैन । त्यस आधारमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नका निम्ति उहाँ (विक्रम मिश्री) को यो भ्रमणले बल पुगोस्,’– उनले भने ।